जनकपुरधाम,१८ फागुन । जनकपुरधाम उप-महानगरपालिका वडा नम्बर १४ स्थित श्री जनता मावि, वेल्ही रजौल विद्यालयमा विधालय व्यवस्थापन समिति (वि.व्य.स.) गठन प्रक्रिया लामो समयदेखि अन्योलमा पर्दै आएको छ। अभिभावकहरुको सहभागितामा विवादरहित रूपमा चारजना अभिभावक सदस्य चयन भइसकेको भए पनि सम्बन्धित अधिकारीहरुको हस्ताक्षर अभावका कारण प्रक्रिया रोकिएको छ।
२०८१ साल फागुन १२ गते बिहान ११ बजे विद्यालय परिसरमा आयोजित अभिभावक भेलामा गणपुरक संख्या भन्दा बढी अभिभावक उपस्थित थिए। अभिभावकहरुको सर्वसम्मतिले चारजना अभिभावक सदस्य चयन भए पनि सो निर्णयलाई आधिकारिकता दिनुपर्ने शिक्षा अधिकृत अञ्जु पाण्डेयले माईन्युटमा हस्ताक्षर नगरेको आरोप अभिभावकहरुले लगाएका छन्।
यसरी प्रक्रिया लम्ब्याइँदा विधालयमा पठनपाठन, संस्थागत निर्णय र अन्य प्रशासनिक कामकाज प्रभावित भएको छ। अभिभावकहरुले नगर प्रमुखसमक्ष ध्यानाकर्षण गराउँदै अविलम्ब निर्णयमा हस्ताक्षर गराइ प्रक्रिया टुंगोमा पुर्याउन माग गरेका छन्। साथै, माग वेवास्ता गरिए आफूहरु चरणबद्ध आन्दोलन र धर्नामा जान बाध्य हुने चेतावनी समेत दिएका छन्।
अभिभावकहरुले आफ्नो बालबालिकाको भविष्यसँग खेलवाड भएको भन्दै सम्बन्धित निकायले पूर्वाग्रही सोचले अभिभावकहरुको हक अधिकार कुण्ठित गरेको गुनासो गरेका छन्। यस विषयमा जनकपुरधाम उप-महानगरपालिकाको आधिकारिक धारणा भने अझै आउन बाँकी छ।






