रमजानको पावन अवसरमा राष्ट्रिय मुक्ति पार्टी नेपालको शुभकामना तथा परीक्षा मिति परिमार्जनको माग

२०८१ फाल्गुन २१, बुधबार ०९:३९

जनकपुरधाम,२१ फागुन । इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व रमजानको अवसरमा देश तथा प्रवासमा रहनुभएका सम्पूर्ण मुस्लिम समुदायलाई राष्ट्रिय मुक्ति पार्टी नेपालले हार्दिक मुबारकबाद तथा शुभकामना व्यक्त गरेको छ।

रमजान आत्मशुद्धि, सेवाभाव, दानशीलता र सत्कर्मको प्रतीक पर्व हो। यस पवित्र महिनाले सबैमा शान्ति, सद्भाव र आपसी भाइचारा बढाउने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना पार्टीले व्यक्त गरेको छ।

यसै सन्दर्भमा, रमजान महिना समाप्त भएपछि नयाँ चन्द्रमा देखिएसँगै मनाइने इदुल-फित्र पर्व यो वर्ष चैत्र १७ वा १८ गते पर्ने सम्भावना छ। तर, यही दिन त्रिभुवन विश्वविद्यालय अन्तर्गत कानुन संकायको BLLB दोस्रो सेमेस्टरको परीक्षा र SEE परीक्षा तोकिएकोप्रति राष्ट्रिय मुक्ति पार्टी नेपालले गम्भीर ध्यानाकर्षण गराएको छ।

पार्टीले सम्बन्धित निकायसँग आग्रह गर्दै भनेको छ, “चैत्र १७ र १८ गते निर्धारण गरिएका परीक्षाहरूको मिति अविलम्ब परिवर्तन गरी विद्यार्थीहरूले आफ्नो मौलिक धार्मिक स्वतन्त्रता पूर्ण रूपमा अभ्यास गर्न सक्ने वातावरण सुनिश्चित गरियोस्।”

राष्ट्रिय मुक्ति पार्टी नेपालले सम्पूर्ण मुस्लिम समुदायलाई इदुल-फित्रको अग्रिम शुभकामना व्यक्त गर्दै धार्मिक सहिष्णुता र विविधतालाई सम्मान गर्न सबैलाई आह्वान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?