जनकपुरधाम,२२ फागुन । शैक्षिक अभियान नेपालद्वारा आयोजित १६ दिने बाल विवाह सम्बन्धि कानुनी परामर्श तालिम जनकपुरधाम उपमहानगरपालिका-०८ स्थित ज्ञानकुप माध्यमिक विद्यालयमा सफलतापूर्वक सम्पन्न भएको छ। तालिममा प्रमुख प्रशिक्षकका रुपमा माननीय जिल्ला न्यायाधीश अर्जुन प्रसाद कोइरालाले विद्यार्थी तथा अभिभावकलाई १६ दिनसम्म कानुनी परामर्श र प्रशिक्षण दिनु भएको थियो ।
तालिममा विद्यालयका करिब ८०० भन्दा बढी विद्यार्थीहरुले बाल विवाहसम्बन्धी कानुनी जानकारी लिएका छन्। शैक्षिक अभियान नेपालकी संयोजक शान्ती बुलुन अनुसार तालिमले बाल विवाह विरुद्ध जनचेतना अभिवृद्धि गर्न ठूलो भूमिका खेलेको छ।
समापन सत्रमा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, वडा-८ का अध्यक्ष दिनेश सिंह, विद्यालयका शिक्षक तथा शैक्षिक अभियान नेपालकी संयोजक शान्ती बुलुनको उपस्थिति रहेको थियो। शैक्षिक अभियान नेपाल संस्थाले विद्यालयलाई मायाको चिनो स्वरूप आधुनिक डिजिटल पैड बक्स प्रदान गरेको छ।
समापन समारोहलाई सम्बोधन गर्दै नगर उपप्रमुख किशोरी साहले बाल विवाह मधेसमा दिनानुदिन बढ्दो समस्याका रुपमा देखिएको भन्दै यस्तो तालिमले समुदायस्तरमा जनचेतना फैलाउने विश्वास व्यक्त गरे “आफ्नो घर-परिवारमा पनि यहाँहरुले सिखेका ज्ञानहरू बाँड्नुहोस्, यसैले हाम्रो प्रयास सफल हुनेछ,” उनले बताएका छन ।
यो १६ दिने तालिमले बाल विवाह जस्तो गम्भीर सामाजिक समस्याविरुद्ध कानुनी जानकारी, सचेतना र रोकथाममा महत्वपूर्ण योगदान दिएको सहभागीहरुले बताएका छन्।






