महोत्तरी,४ चैत । महोत्तरीको सोनमा गाउँपालिका-५ मा आइतबार दिउँसो पत्रकार मंजित कुमार राममाथि पुरानो रिसिबीका कारण कुटपिट भएको छ। आफ्नै घरमा रहेका बेला स्थानीय कुंज बिहारी यादव र उनका तीन छोराले हात बाँधेर पत्रकार रामलाई क्रुर आक्रमण गरेका हुन्।
कुटपिटका कारण पत्रकार रामको टाउको, ढाड, पिठ्युँ र खुट्टामा गम्भीर चोट लागेको छ। उनलाई जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। पत्रकारलाई जोगाउन आएका उनकी भाउजू पवन राम र आमा समेत घाइते भएका छन्।
नेपाल प्रेस युनियन महोत्तरीका सचिव नवीन चौधरीले घटनाको कडा निन्दा गर्दै जातीय विभेदकै कारण पत्रकारलाई निशाना बनाइएको दाबी गरेका छन्। दोषीलाई कडा कारबाहीको माग गर्दै उनले दोषी पहिचान गरी न्याय सुनिश्चित गर्न सम्बन्धित निकायसँग अपिल गरेका छन्।
यस घटनाले प्रेस स्वतन्त्रता र जातीय विभेदको गम्भीर विषयलाई पुनः उजागर गरेको छ। अब प्रशासनले यसबारे कस्तो कदम चाल्छ भन्ने चासोको विषय बनेको छ।






