जनकपुरधाम,१० चैत। मोडेल मल्टिपल कलेजले बिबिएस चौथो वर्षका विद्यार्थीहरूको विदाइ तथा पहिलो वर्षका विद्यार्थीहरूको स्वागत गर्दै विशेष कार्यक्रम आयोजना गरेको थियो । शनिबार सम्पन्न समारोहमा विदाइ हुन लागेका विद्यार्थीहरूलाई खादा, माला तथा मायाको चिनो प्रदान गरिएको थियो।
विदाइ समारोहमा कलेजका शिक्षक, प्रशासनिक टिम तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका संस्थापक विरेन्द्र साहले भनु भयो, “हामी तपाईंहरूलाई गाली आफ्नो स्वार्थका लागि दिँदैनौँ। जसरी एउटा कुम्हारले माटोको भाँडो बनाउन माटोलाई निखारेर आगोमा तताउने गर्छ, त्यसरी नै हामी तपाईंहरूको भविष्य उज्ज्वल बनाउन मेहनत गरिरहेका हुन्छौँ।”
सोही अवसरमा बिबिएस चौथो वर्षका विद्यार्थीहरूले कलेजलाई माया स्वरुप गौतम बुद्धको प्रतिमा प्रदान गरेका छन् भने चार वर्षसम्म ज्ञान प्रदान गर्ने शिक्षकहरूलाई मायाको चिनो प्रदान गरेका छन्।
कार्यक्रमले नयाँ विद्यार्थीहरूलाई प्रेरित गर्दै पुराना विद्यार्थीहरूलाई सुखद् भविष्यको शुभकामना दिने अवसर प्रदान गरेको थियो ।






