जनकपुरधाम-२३ बिन्धीमा हत्या काण्ड: न्यायको माग गर्दै चक्काजाम, प्रशासनले दुई दिनको समय माग्यो

२०८१ चैत्र १३, बुधबार १५:०५

जनकपुरधाम,१३ चैत । होलीको दिन जनकपुरधाम-२३ बिन्धीमा छुरा प्रहार गरी हत्या गरिएका आँशु यादवका दोषीहरूलाई पक्राउ गर्न माग गर्दै स्थानीय बासिन्दा तथा पीडित परिवारले बिन्धी मुख्य चौकमा चक्काजाम गरेका छन्। घटनाको १३ दिन बितिसक्दा पनि सम्पूर्ण आरोपी पक्राउ नगरिएको भन्दै स्थानीय आक्रोशित बनेका हुन्।

बुधवार बिहानैदेखि भएको प्रदर्शनका कारण जनकपुर-भिट्ठामोड सडक अवरुद्ध भएको थियो। स्थानीयहरूले प्रहरीले राजनीतिक प्रभावका कारण हत्यामा संलग्न सबैलाई पक्राउ नगरेको आरोप लगाएका छन्।

पीडित पक्ष र प्रशासनबीचको संवादपछि प्रहरीले दुई दिनभित्र हत्यामा संलग्न सबैलाई पक्राउ गरी छानबिन अघि बढाउने प्रतिबद्धता जनाएको छ। प्रशासनले दिएको आश्वासनपछि चक्काजाम हटाइएको छ र अहिले अवस्था सामान्य बनेको छ। तर, यदि दुई दिनभित्र दोषीहरू पक्राउ नगरिएमा अझ उग्र आन्दोलन गर्ने चेतावनी स्थानीयहरूले दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?