जनकपुरधाम,२८ चैत । नेपाल बुद्धिजीवी परिषद मधेस प्रदेश केन्द्रिय प्रतिनिधिको आयोजनामा र मधेस प्रदेश इन्चार्ज डा. अर्जुन कुमार सिंह राजपुतको अध्यक्षतामा “खुला सिमाना, अनियन्त्रित व्यापार र शहरी अनुशासन” विषयक एक महत्वपूर्ण गोष्ठी जनकपुरधाममा सम्पन्न भएको छ ।
कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूले आ-आफ्नो धारणा राख्दै समसामयिक चुनौतीहरूबारे आवाज उठाएका छन ।
गोष्ठीमा डा. अर्जुन कुमार सिंह राजपुतले जनकपुर उपमहानगरपालिका क्षेत्रमा घरबहालमा बस्ने नेपाली र भारतीय नागरिकहरूको सम्बन्धित वडा कार्यालय तथा प्रहरी कार्यालयमा ID प्रमाण सहित अनिवार्य अभिलेखिकरण कडाइका साथ लागू गरिनुपर्नेमा जोड दिनुभयो। साथै, गोष्ठीलाई केवल छलफलमै सीमित नराखी व्यवहारिक कार्यान्वयनका लागि नेपाल बुद्धिजीवी परिषदले अग्रसर भूमिका खेल्नुपर्ने निष्कर्ष पनि निकानु पर्ने बताए ।
कार्यक्रममा सहभागी पूर्वमन्त्री माननीय यदुवंश झाले खुला सिमानाका कारण दुवै देशको सामाजिक सुरक्षामा जोखिम बढ्ने सम्भावना औंल्याउँदै सिमानामा कडाइ आवश्यक रहेको बताउनुभयो। त्यस्तै सञ्चारकर्मी श्यामसुन्दर शशीले खुला सिमानाको कारण अनियन्त्रित व्यापार बढ्दा आन्तरिक व्यापारी पलायन हुन सक्ने, बेरोजगारी बढ्ने र राज्यले ठूलो राजस्व गुमाउने सम्भावना रहेको तर्क गर्नुभयो।
गोष्ठीमा नेपाल बुद्धिजीवी परिषदका केन्द्रीय सदस्य श्याम किशोर गोइत, धनुषा अध्यक्ष रामचन्द्र यादव, प्राध्यापक शिवशंकर मण्डल, अभिस्थ नारायण झा, समाजसेवी शत्रुधन प्रसाद सिंह तथा परिषदका सचिव सुनिल कुमार झालगायतको उपस्थिति थियो।
पूर्व मधेशी आयोग अध्यक्ष माननीय विजय दत्तले जनकपुरको शहरी अनुशासनका लागि इ-रिक्साको उचित व्यवस्थापन, फुटपाथमा भइरहेको अनियन्त्रित व्यापार नियन्त्रण तथा घरबहालमा बस्नेहरूको अभिलेखिकरण मार्फत नगरपालिकाले सेवाग्राहीहरूलाई उचित सेवा र सामाजिक सुरक्षा दिन सक्ने बताउँदै तत्कालीन समाधानका उपायहरू सुझाउनु भयो।
कार्यक्रमले समग्र रूपमा जनकपुर तथा मधेस प्रदेशभित्र सिमाना, व्यापार र शहरी व्यवस्थापनका मुद्दामा गम्भीर बहस सिर्जना गर्दै व्यवहारिक कार्यान्वयनतर्फ समाज र राज्यलाई सोच्न प्रेरित गरेको देखिन्छ।






