सर्लाही,२९ चैत । सर्लाहीको हरिपुर्वा नगरपालिका–५ की स्थायी बासिन्दा तथा हाल ईश्वरपुर–१३ (श्रीनगर) बसोबास गर्दै आएकी १७ वर्षीया अन्जली कुमारी महतोको ट्रकको ठक्करबाट घटनास्थलमै दु:खद निधन भएको छ।
शुक्रवार बिहान श्रीनगरबाट मिर्चैया बजार तर्फ आउँदै गरेको ना.५ ख ३८५८ नम्बरको ट्रकले हरिपुर्वा नगरपालिका–९ स्थित मिर्चैया बजार नजिकै साईकलमा सवार अन्जलीलाई ठक्कर दिएको हो। अन्जली घरबाट साईकलमा विद्यालय जाँदै थिइन्।
स्थानीयहरूका अनुसार दुर्घटनाको मुख्य कारण बाटोमा गरिएको अवैध अतिक्रमण हो। सडक छेउमा अव्यवस्थित रूपमा राखिएका ढुङ्गा, काठ, गोबर गोइठा, गिट्टी, बालुवा आदिले बाटो साँघुरिएको र सवारी चलाउन झनै कठिन भएको जनाइएको छ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।






