औरही बजारमा प्रहरीद्वारा जनचेतना कार्यक्रम: “हामी तपाईंका साथी हौं” भन्दै असई यादवको सन्देश

२०८२ बैशाख ७, आईतवार ०९:२८

सर्लाही,०७ बैशाख । सर्लाहीको चक्रघट्टा गाउँपालिका–८ स्थित औरही बजारमा रहेको प्रहरी चौकीको अगुवाइमा जनचेतना कार्यक्रम सम्पन्न गरिएको छ। हालै मात्र चौकीको नेतृत्व सम्हालेका प्रहरी सहायक निरीक्षक (असई) दिगम्बर प्रसाद यादवले स्थानीय बासिन्दा तथा सवारी चालकहरुलाई लक्षित गरी सुरक्षा सचेतना कार्यक्रम आयोजना गरेका हुन्।

कार्यक्रममा उनले जवर्जस्ती करणी जस्तो गम्भीर अपराधबारे सजग रहन र बिना हेल्मेट मोटरसाइकल नचलाउन अनुरोध गर्दै त्यसबाट हुने सम्भावित दुर्घटना र कानुनी कारबाहीका बारेमा जानकारी गराए। उनले भने, “हामी तपाईंहरुको साथी हौं। तपाईंहरुलाई जुनसुकै बेला आवश्यक परेमा सहयोग र सुरक्षा दिन हामी तयार छौं। तपाईंहरुले पनि हामीलाई सहयोग गर्नु हुन्छ भन्ने अपेक्षा गरेका छौं।”

जनचेतना कार्यक्रमको क्रममा औरही बजारको मुख्य सडक खण्डमा सवारी चलाउने चालकहरुलाई रोकी हेल्मेटको प्रयोग, ट्राफिक नियम पालन तथा सामाजिक अपराधबारे सन्देश दिइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?