जनकपुरधाम,१२ वैशाख । धनुषाको शहीदनगर नगरपालिका–५ बासुदेवपट्टीमा विष सेवनको घटनाले एकै परिवारका चार जनाको ज्यान लिएको छ। सोमबार साँझ आफ्नै घरमा विष सेवन गरेकी ३० वर्षीया पविताकुमारी साहको शुक्रबार बिहान उपचारको क्रममा निधन भएको हो।
जनकपुरधामस्थित रामजानकी अस्पतालमा उपचाररत पविताको बिहान ९:४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले बताए।
सोमबार साँझ पविता आफ्ना तीन सन्तानसँगै घरमै विष सेवन गरेको अवस्थामा फेला परेकी थिइन्। त्यसै दिन उनका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह, र २ वर्षीया आरुसीको मृत्यु भएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानले पविताले घरायसी विवादका कारण आफ्ना सन्तानलाई विष खुवाएर आफँै पनि सेवन गरेको देखाएको छ। पविता ९ महिनाकी गर्भवती थिइन्। विष सेवन गरेपछि चिकित्सकले शल्यक्रिया गरी शिशुलाई बाहिर निकालेका थिए। नवजात शिशुको अवस्था भने सुधारोन्मुख रहेको प्रहरी स्रोतले जनाएको छ।
पवितालाई तत्काल अस्पताल ल्याइएको भए पनि विषको असर गम्भीर भएकाले बचाउन सकिएन। यता, पविताको माइती पक्षले भने श्रीमान् र ससुराली पक्षबाट शारीरिक र मानसिक यातना पाइरहेकै कारण यस्तो कदम उठाएको आरोप लगाएका छन्।






