सिल गरिएका श्रीराम टोबाकोका उत्पादन फुकुवा गराउन व्यापारीको दौडधुप

२०८२ बैशाख १६, मंगलवार १५:१७

काठमाडौं,१६ बैशाख । बुटवलको श्रीराम टोबाकोले उत्पादन गरेका गुट्का र सुर्तीजन्य पदार्थका उत्पादनहरुलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिल गरेपछि त्यसलाई फुकुवा गराउन व्यापारीको दौडधुप चलिरहेको छ।

श्रीराम टोबाकोको आधिकारिक बिक्रेता पशुपतिनाथ इन्टरनेशनल बिजनेस प्रा.लि. ले सिल गरिएका सामान आफूले फिर्ता लैजाने र मापदण्ड पूरा गरेर मात्रै बजारमा पठाउने भन्दै विभागमा निरन्तर दबाब दिइरहेको स्रोत बताउँछ।

विभागले पशुपतिनाथ इन्टरनेशनलको गोदाममा छापा मारेर करेन्ट गुट्खा, भोला गुट्खा, भोला पावर खैनी र जित खैनीको स्टक सिल गरेको थियो। यी उत्पादनको नमूना संकलन गरेर सिल गरेपछि विभागले उत्पादक र आधिकारिक बिक्रेता दुवैलाई विभागका उपस्थित हुन निर्देशन दिएको थियो।

विभागले नमूना संकलन गरिएका उत्पादनहरुको बिक्री वितरण रोक्का गरी तीन दिनभित्र व्यवसायसँग सम्बन्धित कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको थियो। तर, बिक्रेता भने तत्काल सिल गरिएका सामान फिर्ता लैजाने प्रयासमा रहेको स्रोत बताउँछ।

विभागले सिल गरिएका उत्पादन तत्काल फिर्ता लैजान नमिल्ने बताएकाे छ। उनका अनुसार संकलित नमूनाको जाँच र राजश्वसम्बन्धी काम पूरा नभएसम्म सामान फिर्ता लैजान मिल्दैछ।

‘उत्पादनहरु सिल गरिएपछि नमूना संहलन गरेर थप कारवाहीका लागि आन्तरिक राजश्व विभाग र गुणस्तर तथा नापतौल विभागमा पठाइएको छ’ स्राेतले भन्याे, ‘ती विभागबाट अन्तिम रिपोर्ट नआउँदासम्म सिल गरिएका सामान चलाउन मिल्दैन ।’

सम्बन्धित विभागबाट अन्तिम रिपोर्ट आएपछि मात्रै सिल गरिएका सामानलाई के गर्ने भन्ने विषयमा निर्णय गर्न सकिने विभागले जनाएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?