जनकपुरधाम,१७ बैशाख । सक्षम बालिकाः समृद्ध मधेश भन्ने नाराका साथ बुधबारदेखि दुई दिने मधेश बालिका सम्मेलन–२०८२ सुरु भएको छ ।मधेश प्रदेशका खेलकूद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले उद्घाटन गरेपछि तेश्रो बालिका सम्मेलन जनकपुरधाममा सुरु भएको हो ।
बालिका सम्मेलनको उद्घाटन गर्दै मन्त्री जयसवालले रीतिरिवाजको नाउँमा समाजमा रहेको नकारात्मक धारणा परिवर्तन गर्नुपर्नेमा जोड दिए ।सामाजिक विदेभ, लैंगिक विभेद, सामाजिक कुरीति अन्त्य गर्न सरकारले ऐन ल्याउँछ, मन्त्री जयसवालले भने–कार्यान्वयन त समाजले नै गर्छ ।
त्यसैले सामाजिक रुपान्तरणको सुरुवात आफूबाट गर्ने अठोट लिएर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।किशोरी समूह सिरहाका गुञ्जाकुमारी ठाकुरको अध्यक्षतामा भएको उद्घाटन सत्रमा मन्त्री जयसवालले सामाजिक रुपान्तरणका लागि स्थानीय र संघीय सरकारबीच समन्वय गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।स्थानीय र संघीय सरकारले ल्याएको नीति योजनामा प्रदेश सरकारले पनि सहयोग गर्ने मन्त्री जयसवालले प्रष्टयाए । प्रदेश सरकार चुप लागेर बसेको छैन्, उनले भने–आफ्नो श्रोतसाधनले भ्याएसम्मको कार्यक्रम र योजनाहरु ल्याएको छ ।केही दिन अघि मात्र मधेश प्रदेश सरकारले बालिका संरक्षण ऐन ल्याएको थियो । बालिका संरक्षण ऐन ल्याउने मधेश पहिलो प्रदेश रहेको दावी गर्दै ऐन कार्यान्वयनमा ल्याउनका लागि आगामी आर्थिक वर्षदेखि बेटी जिन्दावाद कार्यक्रम संचालन गरिने मन्त्री जयसवालले जानकारी दिए ।तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवले २०८० बैशाख १७ मा यो दिन प्रत्येक वर्ष मधेश प्रदेश सरकारले बालविवाह विरुद्धको दिवस मनाउने घोषणा गरेका थिए ।बुधबारदेखि सुरु भएको सो सम्मेलनमा धनुषासहित मधेश प्रदेशका आठै जिल्लाका बालिकाहरुले बालबालिकाको अधिकार, सामाजिक रुपान्तरण, बालविवाह विरुद्धको अभियानबारे बहस, कार्यपत्रलगायत विभिन्न क्रियाकलापहरु गरिने लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले बताए ।
बालविवाह विरुद्ध प्रदेश स्तरीय संजाल, मधेश प्रदेशले आयोजना गरेको सम्मेलनमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समितिका सभापति रुपा यादवले छोराछोरीबीच विभेदले समाजिक विकृति बढ्दै गएको दावी गरिन् ।छोरालाई काखा र छोरीलाई पाखा गर्दा अहिले समाजमा अनेकन विकृतिहरु देखापरेको उनले बताइन् । छोराछोरीलाई समान रुपले हेरेर सामाजिक विकृति कम गर्न सकिने तर्क उनको थियो ।
नीति तथा योजना आयोगका सदस्य डा. रिना यादवले अहिले भागी बिबाह समाजमा ठूलो विकृतिको रुपमा देखा परेको बताइन् । बालबालिकाले आफ्नो भविष्य बनाउने बेला भागी बिबाह गरेर आफ्नो र आफ्नो परिवारको भविष्य बर्बाद गरिरहेको उनले भनिन् ।
यस प्रकारको विकृति विरुद्ध जनचेतनाको आवश्यक्ता उनले औंल्याइन् ।सो अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहले भागी बिबाह सामाजिक सचेतनाले रोक्न सकिने बताए । ऐन कानूनले मात्रै यस प्रकारको विकृतिलाई रोक्न कठिन रहेकाले यसप्रति सचेतना आवश्यक रहेको उनले बताए ।
लाइफ नेपाल, हाम्रो प्रयास, मुक्ति नेपाल, परिकल्पना नेपाल लगायतको सहआयोजना रहेको बालिका सम्मेलनमा राष्ट्रिय मानव अधिकार आयोगका मधेश प्रदेश प्रमुख बुधनारायण सहनी, बालविवाह विरुद्ध प्रदेश स्तरीय संजालका मधेश प्रदेश संयोजक प्रशंसा सिंह, मुख्यन्यायाधीवक्ता कार्यालयका सुदिप दंगाल, राष्ट्रिय मानव अधिकार रक्षक संजालका अध्यक्ष श्यामकुमारी साह लगायतले आ आफ्नो मन्तव्य राखेका थिए ।खेलकूद तथा समाज कल्याण मन्त्रालयको समन्वय रहेको बालिका सम्मेलन बिहीबार घोषणापत्र जारी गर्दै सम्पन्न हुन्छ ।






