सिरहा, लहान ०८२ वैशाख १९— सिरहाको लहान नगरपालिका–३ अन्तर्गत दंग्राहा टोलमा बुधबार साँझ एक युवकमाथि खुकुरी प्रहार भएको छ। स्थानीय २७ वर्षीय देवकुमार महतोमाथि कुटपिट तथा खुकुरी प्रहार हुँदा उनी गम्भीर घाइते भएका हुन्।
घटना त्यतिबेला भएको हो जब मनिषकुमार महतोले चलाएको मोटरसाइकल देवकुमारको शरीरमा छोएपछि विवाद उत्पन्न भयो। विवाद चर्कँदै जाँदा देवकुमारमाथि खुकुरी प्रहार गरिएको प्रहरीले जनाएको छ।
घाइते महतोको टाउको, घाँटी र ढाडमा चोट लागेको छ। उनलाई प्रारम्भिक उपचारका लागि प्रादेशिक अस्पताल लहान लगिएको थियो। त्यहाँ उपचारपछि थप उपचारका लागि विराटनगर रेफर गरिएको छ। यद्यपि उनको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए।
प्रहरीका अनुसार घटनामा संलग्न आरोपमा ६२ वर्षीय जिवछ महतो, उनकी श्रीमती ६० वर्षीया सीता देवी महतो र छोरा २१ वर्षीय मनिष महतो पक्राउ परेका छन्। अर्का छोरा १९ वर्षीय मुकेश महतो फरार रहेका छन्। घटनास्थल नजिककै भिडियो फुटेजका आधारमा मुकेशले नै खुकुरी प्रहार गरेको पुष्टि भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीन जनालाई इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ भने फरार मुकेशको खोजी जारी रहेको प्रहरीले बताएको छ। पीडित पक्षले उनीहरू सबैविरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत जाहेरी दिएको छ।






