गर्भवती भैंसी गोठमा जलेर गम्भीर, राँगोको मृत्यु

२०८२ बैशाख २०, शनिबार १६:४५

ताराखोला, जनकपुर ०८२ वैशाख २० –ताराखोला गाउँपालिका–१ मा एक कारुणिक घटना भएको छ, जहाँ एक अज्ञात व्यक्तिले जानीजानी गोठमा आगो लगाउँदा गर्भवती भैंसी गम्भीर घाइते भएको छ भने डेढ वर्षको राँगो जलेर मृत्यु भएको छ।

पीडित परिवारका अनुसार उक्त भैंसी ब्याउन अझै एक महिना बाँकी थियो र आगोका कारण दुबै आँखा गुमाइसकेको छ। भैंसीको शरीरभरि जलन देखिन्छ, अवस्था निकै नाजुक छ।

पीडित महिलाका छोरा भन्छन्, “यति राम्रो गाउँमा यति घिनलाग्दो हर्कत कसैले गर्ला भन्ने कल्पना पनि गरेको थिइनँ। मेरी आमाले सहर नजाने निर्णय गरी गाउँमै पशुपालन गर्दै आइरहेकी थिइन्। अहिले अझै ऋण तिर्न बाँकी रहेको भैंसी यस्तो दुर्दशामा परेपछि हामी विचलित भएका छौँ।”

गोठमा बिजुलीको व्यवस्था छैन, चुलो पनि बालिएको थिएन। परिवारले स्पष्ट रूपमा यो जानीजानी गरिएको आगजनी भएको दाबी गरेका छन्।

पीडित परिवारले दोषीको पहिचान र कारवाहीको माग गर्दै न्यायका लागि आवाज उठाएका छन्। “मेरो आमाको आँसु र त्यो भैंसीको रगत त्यस दोषीलाई पक्कै लाग्नेछ। तँ जहाँ गए पनि म तँलाई छोड्दिन,” पीडित युवाले चेतावनी दिँदै भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?