तीनकुने घटनामा पक्राउ परेका ६ जनाले प्रहरी हिरासतबाटै १२ को परीक्षा दिँदै

२०८२ बैशाख २१, आईतवार १४:२७

काठमाडौँ, २१ बैशाख । काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनका क्रममा अवाञ्छित गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका ६ जना युवाले प्रहरी हिरासतमै बसेर १२ को परीक्षा दिइरहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, १९ वर्षीय दिनेश महतोसहित ६ जनालाई हिरासतबाटै परीक्षामा सहभागी गराइएको हो। महतोसहितका थुनुवा विद्यार्थीहरूलाई परीक्षा दिनका लागि भद्रकालीस्थित प्रहरी परिसरमा ल्याएर व्यवस्था मिलाइएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिल बोहराले जानकारी दिए।

पक्राउ परेका मध्ये दिनेश महतो चैत १५ गतेको प्रदर्शनका क्रममा भाटभटेनी सुपरमार्केटबाट चुरोट र रक्सी चोरी गरेको आरोपमा पक्राउ परेका थिए। उनी बानेश्वरस्थित लिभरपुल कलेजमा अध्ययनरत छन्।

परीक्षामा सहभागी अन्यहरूमा सिन्धुपाल्चोकका दावा शेर्पा, स्याङ्जाका सौगातकुमार बिक, धादिङका सरोज थापा, नुवाकोटका सिमन घले र एक भारतीय नागरिक अमन साकिन रहेका छन्।

हिरासतमा रहेका अन्य थुनुवालाई पनि आवश्यक समन्वयका आधारमा परीक्षा दिन दिइएको एसपी बोहराले बताए। प्रहरीले शिक्षा प्राप्त गर्ने अधिकारलाई मध्यनजर गर्दै कानूनी दायराभित्रै परीक्षाको व्यवस्था मिलाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?