जनकपुरधाम, ०८२/ वैशाख २१। मधेश प्रदेश सरकारले जानकी नवमी तथा कविर दास जयन्तीको अवसरमा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै प्रदेशभित्रका सबै सरकारी कार्यालय, विद्यालय तथा अन्य सार्वजनिक संस्थाहरू बन्द रहने जानकारी गराएको हो।
गृह मन्त्रालयका अनुसार आउँदो मङ्गलबार, बैशाख २३ गते जानकी नवमीको अवसरमा सार्वजनिक विदा दिइनेछ। यो विदा राजपत्रमा उल्लेख गरिएका अतिरिक्त विदाहरूअन्तर्गत पर्छ। जानकी नवमी मधेश प्रदेशको सांस्कृतिक तथा धार्मिक दृष्टिले विशेष महत्वको पर्व मानिन्छ, र जनकपुरधाममा यस अवसरमा भव्य समारोह आयोजना हुने परम्परा छ।
त्यसैगरी, बैशाख २८ गते पर्ने कविर दास जयन्तीका दिन पनि सार्वजनिक विदा दिइने निर्णय गरिएको मन्त्रालयले जनाएको छ। कविर दास सामाजिक समानता र मानवताको पक्षमा आवाज उठाउने भक्ति आन्दोलनका प्रतिष्ठित कवि हुन्, जसको योगदानलाई स्मरण गर्दै प्रत्येक वर्ष यो दिन विशेष कार्यक्रमहरू गरिन्छ।
प्रदेश सरकारले यी पर्वहरूमा सार्वजनिक विदा दिनु सांस्कृतिक पहिचान र विविधताप्रतिको सम्मानको प्रतीक भएको जनाइएको छ।






