रौतहट,२२ बैशाख : रौतहटको गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रले भर्ती भएका व्यक्तिहरूलाई शारीरिक यातना दिएको दाबी गरिएको दृश्य बाहिरिएको छ । कबिर चौकदेखि पश्चिमपट्टि रहेको यो सुधार केन्द्रमा अमानवीय तरिकाले शारीरिक यातना दिएको दृश्य सार्वजनिक भएको हो ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको दृश्यमा एक युवकलाई यातना दिएर पिटेको देखिन्छ । गौरका युवा अभिमन्यु पटेलले यस्तो अमानवीय व्यवहार गर्ने अधिकार कसले दिएको भन्दै घटनाको आलोचना गरेका छन् ।
अर्का युवा सञ्जय सहनीले स्थानीय प्रशासनले गम्भीर विषयलाई तत्काल प्राथमिकतामा राखेर सुधार केन्द्रका सञ्चालकहरूलाई नियन्त्रणमा लिएर कानुनी कारबाही अगाडि बढाउनुपर्ने बताए ।
सुधार केन्द्रको गौर नगरपालिका नगरप्रमुख शम्भु साहले उद्घाटन गरेका थिए । त्यहाँ भर्ती भएका व्यक्तिहरूलाई यातना दिइएको दृश्यले सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले घटनाको यथार्थ विषयमा आवश्यक अनुसन्धान भइरहेको बताए ।
घटना भएरनभएको बुझेपछि मात्र थाहा हुने भन्दै यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको उनले उल्लेख गरेका छन् । आफूले पनि सामाजिक सञ्जालमा नै देखेकाले वास्तविकता के हो अनुसन्धान गरेपछि थाहा हुने उनले जानकारी दिए ।






