जनकपुरधाम, धनुषा जेठ २६ — ट्राफिक सप्ताह–२०८२ को अवसरमा मिति २०८२ जेठ २२ गतेदेखि २८ गतेसम्म विविध कार्यक्रमसहित सवारी साधन र चालकहरूको चेकजाँच, स्वास्थ्य परीक्षण तथा जनचेतनामूलक क्रियाकलापहरू व्यापक रूपमा सञ्चालन भएका छन्।
“Live to Drive Another Day” भन्ने मूल नारासहित सुरु गरिएको ट्राफिक सप्ताहअन्तर्गत नियमित ट्राफिक चेकजाँच बाहेक सवारी साधनहरूको मेकानिकल परीक्षण, चालक तथा सह-चालकहरूको आँखाको जाँच, ब्लड प्रेसर, श्रवण शक्ति परीक्षण र लागुऔषध सेवन सम्बन्धी परीक्षण गरियो।
कार्यक्रममा विद्यार्थीहरूलाई ट्राफिक स्वयंसेवकको रूपमा परिचालन गर्दै उनीहरूलाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ। साथै, सडक प्रयोगकर्ता निर्देशिका वितरण, खुला रक्तदान कार्यक्रम, ट्राफिक सचेतनामूलक पर्चा तथा पम्पलेट वितरण र जनसामान्यलाई लक्षित गरी सचेतनामूलक जिंगल प्रसारणजस्ता गतिविधिहरू समेत सञ्चालन गरिए।
उक्त कार्यक्रम प्रदेश नं. २ सरकार, गृह मन्त्रालय, सडक सुरक्षा तथा ट्राफिक व्यवस्था महाशाखा, प्रादेशिक अस्पताल जनकपुरधाम र जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाको संयुक्त आयोजनामा सम्पन्न भएको हो।
कार्यक्रम आयोजकहरूले सम्पूर्ण सडक प्रयोगकर्तालाई ट्राफिक नियमको पूर्ण पालना गर्न र सुरक्षित यात्राका लागि जिम्मेवार बन्न आह्वान गरेका छन्।






