जनकपुरधाम असार २१ -जनमत पार्टीले डा. जयकान्त राउत र दानबहादुर चौधरीलाई राष्ट्रिय उपाध्यक्ष पदमा मनोनीत गर्ने निर्णयप्रति लुम्बिनी प्रदेशले स्वागत र समर्थन जनाउँदै प्रेस विज्ञप्ति जारी गरेको छ। प्रदेश समन्वय समिति अध्यक्ष राजेन्द्र गुप्ताद्वारा जारी विज्ञप्तिमा उक्त निर्णयले पार्टीभित्र उत्साह र प्रेरणा थपेको उल्लेख गरिएको छ।
विज्ञप्तिमा यो निर्णयलाई “ऐतिहासिक र क्रान्तिकारी” भन्दै सम्पूर्ण स्वराजी नेता, कार्यकर्ता र समर्थकहरूमा नयाँ ऊर्जा भरिएको जनाइएको छ। अध्यक्ष गुप्ताले भनेका छन्, “यो निर्णयले संगठनलाई नयाँ दिशा दिनेछ र मिशन ८४ लाई सफलतातर्फ अग्रसर गराउनेछ।”
एकातिर पार्टीभित्र उत्साह देखिएको जनाइएको छ भने अर्कातिर केही बागी र स्वार्थी समूहले यो निर्णयप्रति अनावश्यक भ्रम फैलाउने दुस्साहस गरेको आरोप पनि लगाइएको छ। विज्ञप्तिमा भनिएको छ, “मधेश र मधेशी जनताको हित नचाहने तथा पार्टीबाट कारबाहीमा परेका केही तत्वहरूले नेतृत्व बदनाम गर्न अराजक गतिविधि थालेका छन्। यस्ता गतिविधिबाट टाढा रहन सम्पूर्ण कार्यकर्तालाई आग्रह गरिन्छ।”
डा. जयकान्त राउतको योगदानको चर्चा गर्दै उनलाई “सर्वमान्य, सशक्त र कुशल अभिभावक” को रूपमा चित्रण गरिएको छ। “उहाँको जीवन जनमत पार्टीप्रति समर्पित छ। उहाँ पदमा हुनु वा नहुनु महत्त्वपूर्ण होइन, उहाँको योगदान अतुलनीय छ,” विज्ञप्तिमा उल्लेख छ।
स्वराज अभियानका प्रमुख योजनाकारमध्ये एक रहेका डा. राउतबिना पार्टीको निर्माण सम्भव नहुने गुप्ताले दाबी गरेका छन्। “उहाँ बिना न पार्टी बन्थ्यो, न संगठन खडा हुन्थ्यो,” भन्दै उनले राउतलाई आज पनि पार्टी र स्वराजीहरूको संरक्षकको रूपमा प्रस्तुत गरेका छन्।
यस्तै, मनोनीत अर्का उपाध्यक्ष दानबहादुर चौधरीको करिब पाँच दशक लामो राजनीतिक अनुभव संगठन निर्माणमा उपयोगी हुने विश्वास पनि विज्ञप्तिमा व्यक्त गरिएको छ।
विज्ञप्तिको अन्त्यमा जात, धर्म, लिङ्ग, नाता वा क्षेत्रको आधारभन्दा माथि उठेर संघर्ष, समर्पण, योग्यता र क्षमतालाई प्राथमिकता दिनुपर्ने स्पष्ट सन्देश दिइएको छ।






