गुणस्तरहीन सडक ढलान, सम्बन्धीत निकाय मौन  !

२०८२ असार २५, बुधबार १२:०५

धनुषा ,असार २५ जनकपुरधाम – उपमहानगरपालिका–१९ स्थित वेगां शिवपुरबाट जनकपुर धनुषाधाम जाने सडक खण्डमा गुणस्तरहीन PCC ढलान भईरहेको खुलासा भएको छ। शत्रुधन यादवको घरदेखि दिनेश शाहको जग्गासम्म भइरहेको ढलानमा निर्माण मापदण्ड नै नपुर्‍याइएको भन्दै स्थानीय आक्रोशित छन्।

सडक निर्माणको जिम्मा लिएका ठेकेदार हरि यादवले आफू नेपाली कांग्रेसको नेता भएकोले कसैले भुक्तानी रोक्न नसक्ने दाबी गरेका छन्। ‘गुणस्तरहीन काम भए पनि हाम्रो भुक्तानी रोक्ने ताकत कसैको छैन,’ उनले बताएका छन्।

यस विषयमा भौतिक पूर्वाधार मन्त्रालयका मन्त्री सरोजकुमार यादवलाई जानकारी गराइएको थियो। मन्त्री यादवले भुक्तानी नदिने र स्थलमै अनुगमन गर्ने आश्वासन दिए पनि अहिलेसम्म अनुगमन गरिएको छैन।

पूर्वाधार विकास कार्यालय धनुषाका कार्यालय प्रमुख राम किशोर शाहले भने, ‘ढलान कार्य गुणस्तरहीन भइरहेको जानकारी पाएपछि ठेकेदारलाई सचेत गराइएको हो। हाम्रो निर्देशन नमानेकोले कुनै हालतमा भुक्तानी हुनेछैन।’

साइड इन्जिनियर सन्तोषकुमार यादवका अनुसार अनुमानित estimate अनुसार इँटा जडान नगरेको पाइएकाले पटक–पटक जानकारी गराउँदा पनि उस्तै ढलान गरिएकोले भुक्तानीमा आवश्यक कटौती गरिने स्पष्ट पारेका छन्।

स्थानीयवासीले सम्बन्धित निकायको लापरवाही र राजनीतिक संरक्षणमा सडक निर्माणमा भइरहेको अनियमितता तत्काल रोकिनुपर्ने माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?