राम पुकार महतो, असार २६-समाज मानव अस्तित्वको मूल आधार हो। समाज बिना व्यक्ति अधूरो हुन्छ, तर जब त्यही समाज अन्याय, विभेद, शोषण र असमानताको जालोमा बाँधिन्छ, तब त्यो समाज केवल समूह होइन, पीडाको स्रोत बन्छ। यस्तै सामाजिक अवस्थाको विरुद्धमा उठ्ने आवाज हो — समाजवाद। मेरो बुझाइमा समाजवाद कुनै केवल आर्थिक प्रणाली होइन, यो जीवनको दर्शन हो, एक यस्तो मानवीय सपना हो जसले समानता, न्याय र गरिबीमुक्त जीवनको परिकल्पना गर्छ।
मैले बाल्यकालदेखि नै दुई वर्ग देखेँ — एक वर्ग जो चिउरा र गुड खान पनि सक्दैन, र अर्को वर्ग जसका कुकुर पनि केक खान्छन्। मैले देखेँ — खेत जोत्ने किसानसँग आफ्नै घर छैन, तर जमिन नजोत्ने मानिसहरू करोडौंका महलमा बस्छन्। मैले देखेँ — पसिना बगाउने श्रमिकले छाक टार्न सक्दैन, तर उसैको पसिनाबाट मुनाफा खाने मालिक विदेश घुम्छ। यिनै भोगाइहरूले मलाई सोच्न बाध्य बनाए — के यही हो समाज? के यही हो जीवन? अनि म उत्तर खोज्न थालेँ, म जीवनको उद्देश्य खोज्न थालेँ, तब मैले भेटेँ — समाजवाद।
समाजवाद भन्नाले मैले यस्तो व्यवस्था बुझ्छु जहाँ व्यक्ति होइन, समाज पहिलो प्राथमिकता हुन्छ। जहाँ राज्य केवल कर उठाउने यन्त्र होइन, जनताको सेवक हुन्छ। जहाँ शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षालाई व्यापार होइन, नागरिक अधिकार मानिन्छ। यस्तो समाजमा बच्चाले स्कुल जान आफ्नो जात हेर्नु पर्दैन, अस्पताल जान गोजीको अवस्था जाँच्नु पर्दैन, न्याय माग्न को सन्तान हो भनेर चिनाउनु पर्दैन।
समाजवादको विचार नयाँ होइन। यो विचार पूँजीवादले सिर्जना गरेको अन्याय र असमानताको प्रतिकारस्वरूप जन्मिएको हो। इतिहासले देखाएको छ कि पूँजीवादले केहीलाई स्वर्ग दिएको छ भने धेरैलाई नर्क। समाजवादले यस नर्कबाट मुक्ति दिन खोज्छ। माक्र्स र एङ्गेल्सले त सामाजिक संरचनालाई वर्गसंघर्षको रूपमा विश्लेषण गरे। उनीहरूले भने — जब श्रमिकहरूले आफ्नो शोषण बुझ्नेछन्, तब उनीहरूले परिवर्तन ल्याउनेछन्। मलाई यो कुरा साँचो लाग्यो, किनभने परिवर्तन सधैं पीडितले नै ल्याउने हो, शोषकले होइन।
नेपालजस्तो देशमा जहाँ बहुसंख्यक जनसंख्या अझै पनि गरिबीको रेखामुनि बाँचिरहेको छ, त्यहाँ समाजवाद केवल सैद्धान्तिक बहसको विषय हुनु हुँदैन। यो त नीति, व्यवहार र जीवनपद्धतिमा उतार्नुपर्ने आवश्यकता हो। यहाँ शिक्षा महंगो छ, स्वास्थ्य सेवा व्यापारिक छ, न्याय खरिदबिक्रीको वस्तु जस्तै भएको छ। यस्ता अवस्थामा समाजवाद भनेको जीवनको न्यूनतम मर्यादा रक्षा गर्ने एकमात्र विकल्प हो।
तर समाजवादको नाममा राजनीतिमा देखिएको प्रपञ्चले मलाई पीडित बनाउँछ। समाजवादको नारासँग चुनाव जित्ने तर पूँजीवादी शैलीमा सरकार चलाउने नेताहरूले समाजवादको आत्मालाई धोका दिएका छन्। उनीहरूले समाजवादलाई केवल भाषणको विषय बनाइदिए, व्यवहारमा पूँजीवादी जालो अझ फैलाइदिए। यही कारणले मैले बुझेको समाजवाद नारामा होइन, व्यवहारमा हुनुपर्छ। समाजवाद यस्तो हुनुपर्छ जसले किसानको खेत रक्षा गर्छ, श्रमिकको श्रमको मूल्य दिन्छ, दलितको अधिकार सुनिश्चित गर्छ, महिलालाई समान अवसर दिन्छ।
वर्तमान संसारमा समाजवादलाई पुरानो विचार भनेर आलोचना गरिन्छ। तर युरोपका देशहरूमा समाजवाद र पूँजीवादको सन्तुलन गरेर सामाजिक लोकतन्त्रको सफल प्रयोग भएको छ। त्यहाँ शिक्षा र स्वास्थ्य राज्यको जिम्मेवारी छ, सामाजिक सुरक्षामा गम्भीर ध्यान दिइन्छ, र गरिबी न्यूनतम स्तरमा छ। त्यसैले मलाई लाग्छ, समाजवाद पुरानो होइन, सधैं नयाँ बनिरहने विचार हो — जसको आवश्यकता प्रत्येक पुस्तालाई छ।
मैले देखेको छु — आजका युवाहरूमा विद्रोहको चेतना छ, उनीहरू अन्याय देख्छन्, प्रश्न समाजवाद भनेको अन्ततः — सबैका लागि जीवनको सम्मान हो।






