काभ्रेपलाञ्चोक असार ३१ — जिल्ला सुरक्षा समितिको मंगलबार बसेको बैठकले साउन महिनाभर साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म राजमार्गमा यात्रुबहाक र निजी सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।
जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार यसअघि असार ६ गते सिन्धुलीको खुर्कोटमा काभ्रे, सिन्धुली र रामेछापका सुरक्षा समितिहरूको बैठकले बर्खामा बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो।
त्यसपछि काभ्रेभन्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्डमा जोखिम भएका ठाउँहरूमा राति सवारी सञ्चालनमा प्रतिबन्ध लाग्दै आएको छ। असार १८ गतेको बैठकले सो निर्णयलाई थप १५ दिनका लागि लम्ब्याएको थियो। अहिले सोही निर्णयलाई निरन्तरता दिँदै साउनभर राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको हो।






