काठमाडौं ,असार ३२। पूर्वाञ्चल विश्वविद्यालयको ४१ औं सभा बैठकले आर्थिक वर्ष २०८२/०८३ का लागि एक अर्ब ७० करोड १४ लाख ३० हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा रजिष्ट्रार प्रा.डा. कल्याणी मिश्रद्वारा प्रस्तुत आय–व्यय विवरण स्वीकृत भएको हो।
यस्तै, उपकुलपति प्रा.डा. बिजुकुमार थपलियाले प्रस्तुत गरेका आगामी वर्षका नीति तथा कार्यक्रम पनि पारित गरिएको छ। विश्वविद्यालयले शिक्षण अस्पतालको स्तरोन्नतिसँगै एमबिबिएस कार्यक्रम सञ्चालनलाई प्राथमिकता दिने जनाएको छ। प्रधानमन्त्री ओलीको सक्रियतामा नयाँ आर्थिक वर्ष सुरु हुनु अघि नै सबै विश्वविद्यालयका सभा बैठकमार्फत बजेट स्वीकृतिको प्रक्रिया अघि बढाइएको छ।






