सरकार परिवर्तनको हल्ला भ्रम मात्रै : डा. जयकान्त राउत

२०८२ भाद्र २, सोमबार १५:०३

जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जयकान्त राउतले मधेश प्रदेश सरकार परिवर्तन सम्बन्धी हल्लालाई निराधार र भ्रमपूर्ण भएको स्पष्ट पार्दै त्यस्ता चर्चामा समय खेर नगर्न सबैलाई आग्रह गर्नुभएको छ।

सरकार आउने–जाने स्वाभाविक प्रक्रिया हो। तर त्यसको पछाडि लागेर अमूल्य समय खेर फाल्नु बेकार हो ।अहिलेको आवश्यकता भनेको सेकेन्ड–सेकेन्डको सदुपयोग गर्दै प्रदेशको दिगो विकास, सुशासन र जनसेवामा केन्द्रित हुनु हो।”

डा. राउतले प्रदेश सरकार, जनप्रतिनिधि, कर्मचारीदेखि सम्पूर्ण सरोकारवालालाई जनताको हितलाई सर्वोच्च प्राथमिकतामा राख्न आग्रह गर्नुभयो। उहाँका अनुसार, विकास र सुशासनका ठोस एजेण्डामा सबै एकजुट भएर अघि बढे मात्र प्रदेशले समृद्धि र स्थायित्व पाउनेछ।

राजनीतिक परिवर्तनका हल्लाले प्रायः आम नागरिकमा अनावश्यक भ्रम सिर्जना गर्ने उल्लेख गर्दै डा. राउतले अनुत्पादक बहसमा ऊर्जा खर्च गर्नेभन्दा शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार र सामाजिक न्यायमा लगानी गर्नु नै महत्वपूर्ण हुने धारणा राख्नुभयो।

राजनीतिक स्थायित्व भन्दा पनि संस्थागत सुशासन र विकासमुखी कार्यशैली नै दीर्घकालीन समाधान हो।

यसैले प्रदेश सरकार परिवर्तनको हल्लामा नफसिकन सम्पूर्ण सरोकारवालाले जनताको हित र दिगो विकासमा समर्पित हुनुपर्ने आवश्यकता उहाँले जोड दिनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?