जनमत पार्टीले तराई–मधेसमा खेतबारीमा काम गर्ने क्रममा करेन्ट लागेर किसान घाइते तथा मृत्यु हुने घटना बढ्दो अवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै नेपाल विद्युत प्राधिकरणलाई पाँचबुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ।
पार्टीले किसानको जीवन सुरक्षालाई प्राथमिकतामा राख्दै विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्यलाई आज ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्र बुझाउँदै पार्टीका केन्द्रीय प्रवक्ता डा. शरद सिंह यादवले खेतबारीमा विद्युतीय तार खस्दा वा पोलको अव्यवस्थित व्यवस्थापनका कारण किसानको ज्यान जाने घटना बढिरहेको भन्दै तत्काल नियन्त्रणका लागि प्राधिकरणलाई प्रभावकारी कदम चाल्न आग्रह गर्नुभयो।
पार्टीले राखेका मागहरू यसप्रकार छन् :
१. कृषि विद्युतीकरणका लागि छुट्टै मापदण्ड बनाई तत्काल लागू गर्नुपर्ने।
२. खेतमा रहेका पोल तथा तारलाई सुरक्षित व्यवस्थापन गर्नुपर्ने।
३. विद्युत् कारण घाइते वा मृत्यु हुने किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने।
४. विद्युतीय कृषि बीमा लागू गर्नुपर्ने।
५. कृषि मीटर र बिल निशुल्क गर्नुपर्ने।
जनमत पार्टीले किसानलाई सुरक्षित वातावरणमा कृषिमा संलग्न हुन सक्ने अवस्था बनाउन सरकार र सम्बन्धित निकायहरूलाई तत्काल ध्यान दिन आग्रह गरेको छ।






