३ पुस । कतारमा जारी फिफा विश्वकप फुटबलको उपाधिको लागि अर्जेन्टिना र फ्रान्स भिड्दै छन् । आज (आइतबार) राति अर्जेन्टिना र फ्रान्स फाइनलमा भिड्न लागेका हुन् ।
कतारको लुसिल स्टेडियममा हुने फाइनल खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ । आज दुबै टोली तेस्रो पटक विश्वकपको उपाधि जित्ने योजनाका साथ मैदान उत्रदैछन् । यी दुई टोलीले हालसम्म दुई पटक विश्वकपको उपाधि जितेका छन् । अर्जेन्टिनाले १९७८ र १९८६ को संस्करणको उपाधि जित्दा फ्रान्सले सन् १९९८ र २०१८ मा विश्वकप जितेको थियो ।
अर्जेन्टिना लगातार छैटौं पटक विश्वकपको फाइनल पुगेको हो भने फ्रान्स लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो । पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३-० ले पराजित गरेको थियो भने दोस्रो सेमिफाइनलमा फ्रान्सले मोरक्कोलाई २-० ले हराएको थियो । हेड टु हेड हेर्ने हो भने अर्जेन्टिना र फ्रान्सबीच हालसम्म १२ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा अर्जेन्टिनाले ६ खेल जित्दा फ्रान्सले ३ खेल जितेको छ भने ३ खेल बराबरीमा सकिएको छ ।
पछिल्लो नतिजा हेर्ने हो भने फ्रान्सले गत संस्करणको विश्वकपको राउण्ड अफ १६ को खेलमा अर्जेन्टिनालाई ४-३ ले पराजित गरेको थियो । यसअघि शनिबार राति भएको तेस्रो स्थानको खेलमा क्रोएसियाले मोरक्कोलाई २-१ ले पराजित गरेको थियो । क्रोएसियाले तेस्रो स्थान हासिल गर्दा मोरक्को विश्वकपमा चौथों भयो ।






