काठमाडौँ ,भाद्र १९ : नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द हुने निर्णयपछि यसको प्रभावबारे विभिन्न कोणबाट छलफल सुरु भएको छ। अहिले सामाजिक सञ्जालहरू धेरैका लागि समय बिताउने, विचार आदानप्रदान गर्ने र जानकारी लिने प्रमुख माध्यम बनेका छन्। यस्तो अवस्थामा ती प्लेटफर्महरू बन्द हुँदा असन्तोष र निराशा (फ्रस्ट्रेसन) प्रत्यक्ष रूपमा समाजमा देखिन सक्ने चिन्ता सरोकारवालाहरूले व्यक्त गरेका छन्।
विशेषज्ञहरूको भनाइमा फेसबुक, इन्स्टाग्राम, एक्स वा युट्युबजस्ता माध्यमहरूले विशेषगरी युवापुस्तालाई निरन्तर सक्रिय राखेका छन्। तर ती प्लेटफर्म बन्द भएमा यही सक्रियता असन्तुष्टिमा परिणत भई सडक आन्दोलन वा अन्य विरोधका स्वरूपमा अभिव्यक्त हुन सक्ने सम्भावना नकार्न नसकिने बताइएको छ।






