भाद्र २४ / २०८२ :Quantum University अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरू, युवा तथा विश्वविद्यालयका शिक्षक–कर्मचारीहरूको सहभागितामा आज शहीदहरू प्रति श्रद्धाञ्जलि कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम भदौ २३ गते काठमाडौंमा Gen Z आन्दोलनका क्रममा शहीद भएका १९ विद्यार्थीहरूलाई समर्पित थियो।
कार्यक्रमको प्रारम्भमा नेपालको नक्सा बनाई, दीप प्रज्वलन गरी, र केही समय मौन धारण गर्दै श्रद्धाञ्जलि अर्पण गरिएको थियो। विश्वविद्यालयका विभिन्न प्रदेशबाट आएका विद्यार्थीहरू दुःख, व्यथा, आशा तथा संकल्पका साथ एकत्रित भएका थिए।
उक्त कार्यक्रममा वक्ताहरूले शहीदहरूको योगदानलाई राष्ट्र निर्माणको आधार बताउँदै उनीहरूको बलिदान व्यर्थ नजाओस् भन्ने प्रतिज्ञा गरेका छन्। “त्याग, संघर्ष र बलिदानबाट नै राष्ट्र बन्छ; सहिदहरू हाम्रो आत्माका दीप हुन्,” भन्ने प्रेरणालाई उद्धृत गर्दै युवा सहभागिहरूले परिवर्तन आवश्यक रहेको बताएका छन्।
वक्ताहरूले उल्लेख गरेका छन् कि अहिले पनि राष्ट्रिय ट्रमा सेन्टरमा घाइते भएका ५१ जनाको उपचार भइरहेको छ, जसमध्ये ८ जनाको अवस्था गम्भीर छ भने ३१ जनाको शल्यक्रिया गरिएको छ। साथै, पूर्वमा भएको २०६२÷६३ को जनआन्दोलनमा २५ जना शहीद भएका भए पनि अहिलेको घटना एकै दिनमा १९ जनाको मृत्युले देशको नेतृत्वमा भएको असफलता दर्शाएको छ।
कार्यक्रममा सहभागी युवाहरूले नयाँ नेतृत्व, लोकतन्त्र, मानव अधिकार, अभिव्यक्ति स्वतन्त्रता र एकताको पक्षमा आवाज उठाउने प्रतिज्ञा गरेका छन्। “शहीदहरू अमर छन्। उनीहरूको बलिदान व्यर्थ नजाओस्,” भन्ने उद्घोषणासँगै सहभागीहरू एकजुट भएका छन्।
श्रद्धाञ्जलि कार्यक्रमले युवापिढीको आकांक्षा, नेतृत्व, ऊर्जा र सामाजिक परिवर्तनको आवश्यकता र महत्त्वलाई उजागर गर्दै नयाँ सोच र नयाँ दिशामा अघि बढ्न आह्वान गरेको छ।
प्रतिज्ञाहरू:
✔ युवा नेतृत्वलाई सम्मान गर्ने
✔ लोकतन्त्र र मानव अधिकारलाई संरक्षण गर्ने
✔ शहीदहरूको सपना पूरा गर्न अग्रसर रहने
✔ विभाजन होइन, एकता र सहकार्यमा विश्वास राख्ने
कार्यक्रमको समापनमा सहभागीहरूलाई परिवर्तनका प्रहरी बन्ने, शहीदहरूको बलिदानलाई अर्थपूर्ण बनाउने, र देशलाई उज्यालो भविष्यतर्फ अघि बढाउने प्रतिज्ञा गराइएको थियो।






