जनकपुरधाम–२० मा दुई समुदायबीच फेरि झडप, कर्फ्यू आदेश जारी

२०८२ आश्विन १७, शुक्रबार २२:२६

जनकपुरधाम ,आशिन १७ । जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रूपैठामा दुई समुदायबीच फेरि तनाव सिर्जना भएको छ। दशैं समापनपछि दुर्गादेवीको प्रतिमा विसर्जन गर्न जाने क्रममा अर्को समुदायले ढुंगामुढा गरेपछि झडप भएको हो।

त्यस क्रममा अर्का समुदायले तेलिया पोखरीको डिलमा बनाएको टहरा जलाएको छ। आक्रोशित भीडले केही घरमा समेत आगजनीको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी निरीक्षक संजिव यादवले जानकारी दिए।

झडप नियन्त्रणमा लिन र थप क्षति रोक्न प्रहरीले २३ सेल अश्रुग्यास प्रहार गरेको थियो। ढुंगामुढाबाट केही प्रहरी र स्थानीय घाइते भएको बताइएको छ। अवस्था नियन्त्रणबाहिर जान थालेपछि स्थानीय प्रशासनले साँझ ६:३० बजेदेखि वडा नम्बर २० का विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।

यसअघि भदौ दोस्रो साता गणेश पूजाको मूर्ति विसर्जन गर्ने क्रममा पनि दुई समुदायबीच झडप भएको थियो। एक समुदायले पोलमा राखेको झण्डा अर्को समुदायले हटाउन खोज्दा विवाद भएको र त्यसपछि दुवै समुदायको झण्डा हटाइएको थियो। भदौ १६ गते मात्र सर्वपक्षीय बैठक बसेर सद्भाव कायम गर्ने सहमति भएको भए पनि फेरि तनाव दोहोरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?