काठमाडौं, २३ असोज — जेन–जी आन्दोलनको क्रममा लुटिएका नेपाल प्रहरीका ८ सयभन्दा बढी हतियार अझै फेला परेका छैनन्।
नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार आन्दोलनका क्रममा देशभरबाट साना ठूला गरी ११ सयभन्दा बढी हतियार लुटिएका थिए। तीमध्ये करिब तीन सय हतियार फिर्ता भएको वा बरामद गरिएको भए पनि बाँकी ८ सयभन्दा बढी हतियार अझै बेपत्ता छन्।
हतियार खोजीका लागि समिति गठन गरेर काम भइरहेको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले जानकारी दिए। उनका अनुसार लुटिएका केही हतियार नेपाली सेनाले बरामद गरेको र केही हतियारसहितका व्यक्तिहरू पक्राउ परे पनि ठूलो संख्यामा हतियार अझै हराइरहेका छन्।
हतियार हराउँदा सुरक्षा चुनौती थपिएको छ भने कतिपय सुरक्षाकर्मी हतियारविहीन अवस्थामा रहन बाध्य भएका छन्। आन्दोलनका क्रममा प्रहरी कार्यालय तोडफोड, आगजनी र हतियार लुटपाटका दृश्यहरू तस्बिर र भिडियोमार्फत सार्वजनिक भएका थिए।
त्यो क्रममा प्रहरीका तीनजनाको ज्यान गएको थियो— दुईजना महाराजगञ्ज वृत्तमा र एकजना कोटेश्वर प्रभागमा कार्यरत थिए। केही प्रहरीले आत्मसमर्पण गरेर वा भागेर ज्यान जोगाएका थिए।
प्रदर्शनका बेला आन्दोलनकारीहरू प्रहरीका हतियार र बर्दी प्रयोग गरी हिँडिरहेका दृश्यहरू समेत देखिएका थिए।






