देपुरा रुपैठामा हिन्दु,मुस्लिम मिलेर सद्भाव र्‍याली, साम्प्रदायिक तनावपछि एकताको सन्देश

२०८२ आश्विन २८, मंगलवार १२:३४

जनकपुरधाम,२८ असोज । जनकपुरधाम उपमहानगरपालिका–२० देपुरा रुपैठामा आज हिन्दु र मुस्लिम समुदाय मिलेर सद्भाव र्‍याली निकालेका छन्।

हालैका विवादपछि आपसी सम्बन्ध बलियो बनाउन सर्वपक्षीय बैठक बसेर दुवै समुदायका अग्रज र युवाहरुले संयुक्त रुपमा र्‍याली आयोजना गरेका हुन्। र्‍यालीमा सहभागीहरुले “हिन्दु मुस्लिम भाइ भाइ”, “बाहिरी घुसपैठ मुर्दावाद” लगायतका नाराहरू लगाएका थिए।

विगत केही वर्षदेखि देपुरा रुपैठामा हिन्दु, मुस्लिमबीच विवाद हुँदै आएको थियो। असोज १७ गते दुर्गादेवीको प्रतिमा सेलाउन जाने क्रममा भएको झडपपछि अवस्था जटिल बन्दै गएको थियो । तर, आजको र्‍यालीले गाउँमा सद्भाव र एकताको नयाँ सन्देश दिएको छ।

बैठकमा दुवै समुदायका प्रतिनिधिहरूले अब समाजलाई शिक्षा, स्वास्थ्य र सरसफाइमा एकसाथ अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्। स्थानीयवासीहरूका अनुसार, आजको र्‍यालीले समुदायबीचको आपसी सम्बन्ध पुनः मजबुत बनाएको छ र भविष्यमा शान्तिपूर्ण सहअस्तित्वका लागि मार्ग प्रशस्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?