जनकपुरधाम, २८ असोज। जनकपुरधाममा लोसपा नेपालको केन्द्रीय कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा धनुषा जिल्ला पार्टी अध्यक्ष श्री जीवेन्द्र झाको अध्यक्षता रहेको थियो।
उक्त कार्यक्रममा लोसपा नेपालका केन्द्रीय अध्यक्ष महन्त ठाकुरको प्रमुख आतिथ्यता रहेको थियो। त्यसैगरी केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा मधेश प्रदेशका अध्यक्ष माननीय जितेन्द्र सोनल विशिष्ट अतिथिको रूपमा उपस्थित थिए।
कार्यक्रममा केन्द्रीय तहका पदाधिकारीहरू, जिल्ला स्तरीय नेताहरू र विभिन्न गाउँ नगरस्तरका कार्यकर्ताहरूको समेत उल्लेखनीय उपस्थिति रहेको आयोजकहरूले जनाएका छन्।
भेटघाट कार्यक्रममार्फत पार्टी संगठन सुदृढीकरण, आगामी राजनीतिक रणनीति, र मधेशको अधिकारका सवालमा लोसपाको भूमिका सम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो।






