जनकपुर, २९ असोज। मधेश प्रदेशमा नयाँ राजनीतिक समीकरण बनेसँगै लोसपा नेता जितेन्द्र प्रसाद सोनल मुख्यमन्त्रीको दावेदार बनेका छन्।
बुधबार पाँच दलका नेताहरू ५६ प्रदेश सभा सदस्यको समर्थन हस्ताक्षरसहित प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष पुगेका थिए। उनीहरूले सोनलको नेतृत्वमा नयाँ सरकार गठन गर्ने प्रस्ताव औपचारिक रूपमा प्रस्तुत गरेका हुन्।
यसअघि मंगलवार मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा दिएपछि प्रदेश प्रमुख भण्डारीले आज दिउँसो ४ बजेसम्म नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आग्रह गरेकी थिइन्।
गत राति र आज बिहान बसेको बैठकपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जसपा नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच सहमति जुटाएर सोनललाई नेतृत्व दिने निर्णय भएको हो।
गठबन्धन स्रोतका अनुसार मन्त्रालय बाँडफाँटबारे भने अझै अन्तिम निर्णय भइसकेको छैन। सोनलको दाबी पेश भएपछि प्रदेश प्रमुखले संविधानअनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने तयारी गरेकी छन्।






