धनुषा २०८२ कार्तिक २४ गते :मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई २०८२ कार्तिक २३ गते बिहान ४ बजे नियुक्ति प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै कार्तिक २४ गते बिहानैदेखि राजनीतिक दलका सांसद र कार्यकर्ताहरूले प्रदेश सरकारअन्तर्गतका प्रदेश प्रमुखको कार्यालयमा र मन्त्रालयको मुख्य गेटमा तोडफोड गरेका छन्। उक्त घटनापछि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय का संयोजक राजु पासवान, जिल्ला प्रतिनिधि संतोष कुमार यादब राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयका मानव अधिकार अधिकृत राहुल ठाकुर र मानव अधिकार अधिकृत दीपक ठाकुररूले संयुक्त रूपमा स्थलगत अनुगमन गरेका छन्।
मुख्यमन्त्री यादवलाई कार्तिक २३ गते बिहान महोत्तरी जिल्लाको बर्दिबासस्थित पानस होटलमा प्रदेश प्रमुख सुमित्रा देवी भण्डारीले शपथ गराएको घटनापछि प्रदेशका राजधानी जनकपुरधाममा तनाव उत्पन्न भएको हो।
नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद र कार्यकर्ताहरूले सो नियुक्तिलाई “संविधान र कानुनविपरीत भएको” भन्दै विरोध कार्यक्रमका क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय , मधेस प्रदेश प्रमुखको कार्यालय र मन्त्रालयको मुख्य गेटमा तोडफोड गरेका हुन्।
तोडफोडकै क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत कार्यरत न्याय सुब्बा (नासु) २४ वर्षीय पंकज कुमार यादव र कार्यालय सहयोगी ५७ वर्षीय शिवलाल महरा माथि कार्यकर्ताहरूले हातपात गरेको बताइएको छ। उनीहरूले कार्यालयमा रहेका कम्प्युटर र सामग्री जोगाउने क्रममा आफूहरू कुटपिट गरेको बताएका छन्।
त्यस्तै, ड्युटीमा खटिएका मुजेलिया प्रहरी चौकीका असई श्यामसुन्दर मण्डल र सोही कार्यालयमा खटिएका सशस्त्र प्रहरीका सैई गिर्धारी शाहले पनि सांसद माला कर्ण, रमेश पटेल र रामविनोद चौधरीलगायत व्यक्तिहरूबाट गालीगलोजी गर्नुको साथै दुर्व्यवहार गरेको बताए।
अनुगमनका क्रममा मन्त्रालय अगाडिका गमला, गेट र भौतिक संरचनाहरूमा क्षति पुगेको इन्सेक धनुषा प्रतिनिधि यादवले उल्लेख गरेका छन्। अहिले घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका अतिरिक्त टोली परिचालन गरी कडा सुरक्षा व्यवस्था गरिएको छ।
सन्तोष कुमार यादब








