१ मंसिर, जनकपुरधाम। मधेश प्रदेशमा नयाँ सरकार गठनमा देखिएको अवरोध विरुद्ध सात दलीय गठबन्धनका प्रदेश सांसदहरू आज सातौँ दिन पनि मधेश भवन अगाडि धर्नामा बसेका छन्।
धर्नामा सहभागी दलहरूमा नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकन्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टी रहेका छन्। यी दलहरूले प्रदेशमा बहुमत भए पनि सरकार गठन गर्न नदिइएको आरोप लगाउँदै निरन्तर सडक–दबाब सिर्जना गरिरहेका छन्।
गठबन्धनका नेताहरूले प्रदेश प्रमुखको भूमिकामाथि पनि प्रश्न उठाउँदै संवैधानिक व्यवस्थाअनुसार सरकार गठन प्रक्रिया अघि बढाउन माग गरेका छन्। धर्नामा सहभागी नेताहरूले सरकार गठन रोकिनु प्रदेशको राजनीतिक स्थायित्व र जनादेश दुवैको अपमान भएको टिप्पणी गरेका छन्।






