धनुषा: टिकटकमार्फत अफवाह फैलाउने र मस्जिद तोडफोड गर्ने तीन जना पक्राउ

२०८२ पुष २०, आईतवार २२:०४

जनकपुरधाम, पौष २०: सामाजिक सञ्जाल टिकटकमार्फत धार्मिक सद्भाव बिगार्ने उद्देश्यले अफवाह फैलाएको तथा मस्जिदमा तोडफोड गरेको आरोपमा धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ।

घटनाको विवरण
प्रहरीका अनुसार धनुषाको कमला नगरपालिका–६ निवासी हैदर अंसारी र १९ वर्षीय अमानत अंसारीले टिकटकमा समुदाय लक्षित अपशब्द प्रयोग गर्दै आपत्तिजनक भिडियो पोस्ट गरेका थिए। उक्त कार्यले धार्मिक भावनामा खलल पुगेको ठहर गर्दै उनीहरूविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा १५६ अनुसार ‘धर्मसम्बन्धी कसूर’मा मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालत धनुषाबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसै विषयलाई लिएर पुस १९ गते शनिबार दिउँसो करिब २ बजे कमला नगरपालिका–६ सखुवा टोलस्थित एक मस्जिदमा तोडफोड भएको थियो। मस्जिदभित्र प्रवेश गरी कागजात निकाल्ने तथा धार्मिक ग्रन्थ जलाएको आरोपमा सोही स्थानका २५ वर्षीय कपिल भनिने राम प्रताप साहलाई प्रहरीले पक्राउ गरेको छ। उनीमाथि मुलुकी अपराध संहिता दफा १५५ अन्तर्गत अनुसन्धान भइरहेको छ।

प्रहरीको चेतावनी र अपील
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (DSP) गणेशबहादुर बमले फेसबुक, टिकटक, ह्वाट्सएपलगायत सामाजिक सञ्जालमा धार्मिक आस्थामाथि चोट पुग्ने कुनै पनि सामग्री पोस्ट, सेयर, लाइक वा कमेन्ट नगर्न सबैलाई सचेत गराउनुभएको छ। यस्तो गतिविधिमा संलग्न पाइएमा कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ।

साथै, जिल्लामा शान्ति र सामाजिक सद्भाव कायम राख्न राजनीतिक दल, नागरिक समाज तथा सर्वसाधारणसँग प्रहरीले सहयोगको अपील गरेको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको विज्ञप्तिमा उल्लेख छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?