जनमत पार्टी सिरहा क्षेत्र नं. १ को क्षेत्रीय पार्टी कार्यालय उद्घाटन

२०८२ पुष २६, शनिबार १४:४८

जनमत पार्टीले सिरहा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत क्षेत्रीय पार्टी कार्यालयको उद्घाटन गरेको छ। लहान नगरपालिका–१२ भोटियाटोलमा आयोजित उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जयकान्त राउत रहनुभएको थियो। कार्यक्रममा पार्टीका केन्द्रीय, प्रदेश तथा स्थानीय तहका नेता–कार्यकर्ता, शुभेच्छुक तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. राउतले क्षेत्रीय पार्टी कार्यालयले संगठन विस्तार, जनतासँगको प्रत्यक्ष संवाद र पार्टी गतिविधिलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले जनमत पार्टी मधेसको अधिकार, सुशासन र समावेशी विकासका एजेन्डालाई केन्द्रमा राखेर अघि बढिरहेको बताउनुभयो।

डा. राउतले जनमत पार्टी जनताको समस्या र आवश्यकतासँग जोडिएर काम गर्ने राजनीतिक शक्तिका रूपमा स्थापित हुँदै गएको उल्लेख गर्दै सिरहा क्षेत्र नं. १ मा संगठनलाई अझ सशक्त बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागी अन्य वक्ताहरूले जनमत पार्टीको नीति, सिद्धान्त तथा भावी योजनाबारे चर्चा गर्दै स्थानीय तहदेखि संगठन विस्तारलाई तीव्रता दिने धारणा राखेका थिए।

क्षेत्रीय पार्टी कार्यालय उद्घाटनसँगै सिरहा क्षेत्र नं. १ मा जनमत पार्टीको संगठनात्मक गतिविधि थप सक्रिय र गतिशील हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?