काठमाडौँ ,चैत्र २१ । प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले सरकारी कार्यालयहरूमा अनावश्यक खर्च घटाउने उद्देश्यले नयाँ सर्कुलर जारी गरेको छ। सर्कुलरमार्फत प्रत्येक कोठामा प्रधानमन्त्रीको फोटो झुण्ड्याउने परम्परा रोक्न र आवश्यक तथा औचित्यका आधारमा मात्रै फोटो राख्न निर्देशन दिइएको छ।
सचिवालयका अनुसार डिप्लोमेटिक मिसन बाहेकका सरकारी कार्यालयहरूमा आवश्यकभन्दा बढी कोठा–कोठामा प्रधानमन्त्रीको फोटो राख्ने अभ्यासका कारण अनावश्यक खर्च बढिरहेको देखिएकाले यस्तो निर्णय गरिएको हो।
सरकारी खर्चलाई व्यवस्थित र मितव्ययी बनाउन विभिन्न तहमा पहल भइरहेका बेला प्रधानमन्त्री सचिवालयको यो निर्देशन खर्च कटौतीतर्फको कदमका रूपमा हेरिएको छ। परम्परागत रूपमा चल्दै आएको हरेक कोठामा फोटो झुण्ड्याउने अभ्यासले अनावश्यक आर्थिक भार बढाएको भन्दै उक्त अभ्यास नियन्त्रण गर्न सर्कुलर जारी गरिएको सचिवालयले जनाएको छ।






