सालको काठसहित बेवारिसे ट्याक्टर नियन्त्रण

२०८३ बैशाख २०, आईतवार २०:३५

खडक नगरपालिका–८ बिसनपुर चोकस्थित पूर्व–पश्चिम राजमार्गबाट प्रहरीले सालको काठ (गोलिया) सहित एक ट्याक्टर नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको गस्ती टोलीले स.१ त ३९०२ नम्बरको ट्याक्टर बेवारिसे अवस्थामा फेला पारेको थियो। ट्याक्टरमा ३ थान सालको काठ(गोलिया)लोड गरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएको ट्याक्टरलाई इलाका प्रहरी कार्यालय कल्याणपुरमा ल्याई सव–डिभिजन वन कार्यालय कल्याणपुरका कर्मचारीको उपस्थितिमा नापजाँच गर्दा काठको परिमाण ८० क्यूफिट रहेको पाइएको छ। उक्त काठको अनुमानित मूल्य रु. २ लाख ४० हजार र ट्याक्टरको मूल्य रु.६ लाख गरी जम्मा रु.८ लाख ४० हजार बराबरको रहेको बताइएको छ।

बरामद गरिएको काठसहित ट्याक्टरलाई आवश्यक थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि सव–डिभिजन वन कार्यालय कल्याणपुरमा बुझाइएको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालयका प्रमुख सुभाष चन्द्र दासका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?