सरकारले सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूलाई पुनर्स्थापनाका लागि प्रतिपरिवार २५ हजार रुपैयाँ दिने भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नदी किनारका बस्ती खाली गर्दा विस्थापित भएकाहरूलाई पुनर्स्थापनाका लागि एकमुस्ट २५ हजार रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
काठमाडौं उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रतिपरिवार पुनर्स्थापना खर्चबापत २५ हजार रुपैयाँ एकमुस्ट रुपमा प्रदान गर्ने,मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै प्रवक्ता पोखरेलले भने ।
यस्तै, बैठकले जोखिमयुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोवासको व्यवस्था आफैं गर्न प्रोत्साहन गर्ने निर्णय गरेको छ ।
त्यसका लागि ५ सदस्य भएको परिवारका लागि मासिक १५ हजार रुपैयाँ र सोभन्दा बढी सदस्य हुनेहरूको हकमा प्रति सदस्य थप २ हजारका दरले राहत उपलब्ध लगाउने निर्णय भएको उनले जानकारी दिए ।
यस्तै, बैठकले स्विट्जरल्यान्ड र चीनबाट प्राप्त हुने अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।






