चितवन। रायणगढ–मुग्लिन सडक खण्डका पहिरोको उच्च जोखिम भएका तीन ठाउँमा पहिरो नियन्त्रणको काम गरिने भएको छ। डिभिजन सडक कार्यालयले बोलपत्र आह्वान गरी ठेक्का प्रक्रिया अघि बढाएको छ।
सो सडकखण्डका नाम्सिखोला, कालिखोला र तुइन खोलामा पहिरो नियन्त्रणका काम गर्न लागिएको हो। कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार नाम्सिखोलाको दुवै तर्फको भित्तोमा पहिरो रोकथामको काम गरिँदै छ। नारायणगढबाट ३२ दशमलव एक किलोमिटर मुग्लिनतर्फ खोलो पर्दछ। जसको नारायणगढ तर्फको डाँडोको उचाइ १२० मिटर र मुग्लिन तर्फको उचाइ ९० मिटर रहेको छ।
यसैगरी, कालिखोलाको दायाँबायाँको भित्तोको पहिरो रोकथामको काम गरिने छ। नाम्सिखोलाबाट ५०० मिटर मुग्लिनतर्फ पर्ने यो खोलामा नारायणगढ तर्फको भित्ताको उचाइ ६० मिटर र मुग्लिनतर्फको उचाइ ५० मिटर छ। सोही सडकको तुइन खोलामा नारायणगढतर्फ रहेको १०५ मिटर अग्लो भित्तोको पहिरो रोकथामको कार्य अगाडि बढाइने भएको छ। यो ठाउँ नारायणगढबाट ३३ दशमलव नौ किलोमिटर टाढा रहेको छ।
इन्जिनियर घिमिरेका अनुसार यी तिनै ठाउँमा भित्तामा चार मिटर ड्रिल गरेर रड भित्र छिराएर बाहिरबाट तारा जालीले बाँधिने छ। यो प्रविधिलाई ‘रक नेटिङ’ भनिन्छ। भित्र रहेको रडले जाली अढ्याउने र जालीले ढुङ्गामाटो भित्र अढ्याउँछ। घिमिरेका अनुसार जाली लगाएपछि बायोइन्जिनियरिङ विधिको प्रयोग गरी पुरै डाँडो हरियाली बनाइने छ।
यो सडक खण्डमा रहेका ४३ वटा पहिरोको जोखिम ठाउँमध्ये तीन उच्च जोखिमका ठाउँलाई मात्र पहिरो रोकथामका लागि बजेट पुगेको हो। क्रमशः बजेट सुनिश्चित भएसँगै अन्य ठाउँको पहिरो रोकथामको काम गरिने छ। ती तीन वटा पुललाई दुईवटा प्याकेज बनाएर सडक कार्यालयले बोलपत्र आह्वान गरेको हो।
इन्जिनियर घिमिरेका अनुसार पहिलो प्याकेज तुइनखोला र नाम्सिखोलाको मुग्लिनतर्फ पर्दछ। यसको वैशाख २५ गते बोलपत्र आह्वान गरिएको छ। दोस्रो कालिखोलाको दुवैतर्फ र नाम्सिखोलाको नारायणगढतर्फको वैशाख २९ गते बोलपत्र आह्वान गरिएको हो। यी दुवै प्याकेजको बजेट रु ४२ करोड ४० लाख रहेको छ।
खरिद प्रक्रिया पूरा गरी काम गर्दा असारको अन्तिम साता पुग्ने अनुमान छ। ठेक्का लागेसँगै सुरुमा झर्न लागेका माटाका ढिस्का र ढुङ्गा झारिने घिमिरेले जानकारी दिए।
बर्सातको समयमा पानी पर्दा हिलोसहितको पहिरो र घाम लाग्दा सुक्खा पहिरो खस्ने गर्दछ। यो सडक हुँदै दैनिक १० हजार हाराहारी सवारीसाधन आवतजावत गर्दछन्। राजधानी प्रवेश गर्ने र बाहिरिने मुख्य सडकका रूपमा यो रहेको छ।






