रामगोपालपुरमा पोषण तथा खाद्य सुरक्षासम्बन्धी पालिकास्तरीय कार्यशाला सम्पन्न

२०८३ जेष्ठ ७, बिहीबार ०६:०७

महोत्तरी: महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकामा ‘पालिकास्तरीय कार्यक्रम शुभारम्भ कार्यशाला’ तथा ‘पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक’ सम्पन्न भएको छ ।

​नगर प्रमुख रामदुलार साहको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा केयर नेपाल (Care Nepal /iDE ) को आर्थिक सहयोग तथा दलित समाज उत्थान समिति नेपाल, महोत्तरीको सहजीकरणमा सञ्चालित पोषण परियोजनालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

​बैठकको निर्णयअनुसार पोषण परियोजनाका गतिविधिहरूलाई पालिकाका दलित, विपन्न, मुस्लिम तथा पीछडिएका समुदायमा केन्द्रित गरिने भएको छ । साथै, पोषण सुधारका कार्यक्रमहरू सञ्चालन गर्न नगरपालिकाको वडा नं. ४ र ७ लाई छनोट गरिएको छ । उक्त वडाहरूमा रहेका ‘स्वास्थ्य आमा समूह’ सँगको समन्वय र सहकार्यलाई उच्च प्राथमिकता दिने निर्णय सर्वसम्मत रूपमा पारित गरिएको छ ।

​कार्यशालामा बालबालिकाको बौद्धिक विकासमा प्रारम्भिक ५ वर्षको उमेर निकै संवेदनशील रहने जानकारी दिइयो । तथ्याङ्कअनुसार बच्चा गर्भमा रहँदा ३० प्रतिशत, जन्मिएको पहिलो वर्षमा थप २५ प्रतिशत र दुई वर्षभित्र ५० प्रतिशत बौद्धिक विकास भइसक्छ । ५ वर्षको उमेरसम्ममा ९० प्रतिशत बौद्धिक विकास भइसक्ने भएकाले यस उमेर समूहलाई विशेष जोड दिइएको हो ।

​महिला, बालबालिका र किशोरीहरूको पोषण अवस्थामा सुधार ल्याउनु, बहुक्षेत्रीय अभ्यासलाई संस्थागत गर्नु तथा स्थानीय तहको नीति, योजना र सेवा प्रवाहमा सुधार गरी पोषणमैत्री स्थानीय शासन पद्धति अवलम्बन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।

 

​सो अवसरमा नगर प्रमुख साहले पोषण र खाद्य सुरक्षा स्थानीय सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै परियोजनाको सफलताका लागि नगरपालिकाको तर्फबाट आवश्यक पर्ने सम्पूर्ण प्राविधिक तथा संस्थागत सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

​पोषण परियोजनाका कार्यक्रम संयोजक योगी माया सिंहले पोषणसम्बन्धी परियोजनाका उद्देश्य र आगामी कार्ययोजनाबारे विस्तृत जानकारी गराउनुभएको छ ।

 

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. लोकनाथ भुसाल, उद्योग वाणिज्य संघका अध्यक्ष, विभिन्न वडाका वडाध्यक्षहरू, स्वास्थ्य, कृषि तथा शिक्षा शाखाका अधिकृतहरू, महिला बालबालिकाका प्रतिनिधि, पशुपक्षी शाखाका प्रतिनिधि, विभिन्न सरोकारवाला निकायका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?