काठमाडौं। श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नहरूको तत्काल जवाफ दिन माग गरेका छन्।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद साम्पाङले प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम २ अनुसार नेपाल सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री आफैं संसद्मा उपस्थित भई सांसदहरूले उठाएका प्रश्नहरूको उत्तर दिनुपर्ने कानुनी व्यवस्था रहेको स्मरण गराए।
उनले नियमावलीको सोही व्यवस्थालाई उल्लेख गर्दै सरकार संसद् र जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिए।
बैठकमा विशेष समय लिएर बोल्दै सांसद साम्पाङले आफूले गत वैशाख २८ र २९ गते गृह मन्त्रालय, रक्षा मन्त्रालय तथा अन्य मन्त्रालयहरूसँग सम्बन्धित विभिन्न सार्वजनिक महत्त्वका प्रश्नहरू उठाएको उल्लेख गरे।
हाल गृह मन्त्रालयको जिम्मेवारी समेत प्रधानमन्त्री आफैंले सम्हालिरहेको अवस्थामा देशको शान्ति सुरक्षा, सुकुम्बासी समस्या, सीमा विवाद तथा लिपुलेक जस्ता अत्यन्तै संवेदनशील विषयमा आफूले प्रश्नहरू सोधेको उनले प्रष्ट पारे।
यी राष्ट्रिय सरोकारका गम्भीर मुद्दाहरूमा प्रधानमन्त्री स्वयं संसद्मा आएर स्पष्ट र जिम्मेवारपूर्ण जवाफ दिनुपर्ने अडान उनले राखे। संसद्मा उठाइएका प्रश्नहरूप्रति सरकार गम्भीर र जिम्मेवार बन्नुपर्ने भन्दै उनले प्रधानमन्त्रीको उपस्थितिको माग गरेका हुन्।






