७ जेठ, काठमाडौं । नेकपा एमालेले पदाधिकारीदेखि थुप्रै केन्द्रीय सदस्यलाई तुलनात्मक कमजोर भूमिका रहने विभागमा थन्काएर केही केन्द्रीय सदस्यलाई महत्वपूर्ण जिम्मेवारी दिने तयारी गरेको छ ।
भोलि बस्ने सचिवालय बैठकबाट पारित गर्ने तयारी रहेको प्रस्ताव अनुसार प्रदीप ज्ञवाली, शेरबहादुर तामाङ, विशाल भट्टराई, क्षितिज थेबे, रश्मी आचार्य, सुर्य पाठक र निरज आचार्य छन् ।
ज्ञवालीलाई विदेश मामिला विभाग प्रमुख प्रस्ताव गरिएको छ । एमालेमा लामो समय यो विभागको प्रमुख शीर्ष तहका नेताले लिने गरेका थिए । माधव नेपाल, झलनाथ खनाल, केपी शर्मा ओलीहरुले कुनै बेला विदेश विभागको प्रमुख सम्हाल्लेका थिए ।
गत मंसिरमा सम्पन्न एघारौं राष्ट्रिय महाधिवेशनमा महासचिव पदका दावेदार रहेका ज्ञवालीलाई यो विभागको प्रमुख दिने तयारी गरिएको छ । अध्यक्ष केपी शर्मा ओलीले शंकर पोखरललाई नै महासचिव दोहोर्याउने निर्णय लिएपछि ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका थिए ।
विदेश विभागपछि शक्तिशाली मानिने संगठन विभागको जिम्मेवारी भानुभक्त ढकालले पाउने भएका छन् । ओली एमालेको नेतृत्वमा आएपछि ढकालले निरन्तर प्रभावशाली भूमिका पाउँदै आएका छन् । गत महाधिवेशनबाट सचिव चयन भएपछि उनलाई संगठन विभागको जिम्मेवारी दिइदैछ ।
अघिल्लो कार्यकालमा उनी जनसंगठन समन्वय संयन्त्रको प्रमुख थिए । यो भूमिकामा पार्टीभित्र उनी विवादित थिए । तर अध्यक्ष ओली र महासचिव पोखरेलका विश्वास पात्र भएकाले उनलाई बढुवा सहित थप जिम्मेवारी दिइएको छ ।
जनसंगठन समन्वय संयन्त्र प्रमुखको जिम्मेवारी विशाल भट्टराईलाई दिने प्रस्ताव गरिएको छ । एमालेका सवै जनसंगठनहरुको समन्वय गर्ने भएकाले यो महत्वपूर्ण जिम्मेवारी हो ।
अर्को प्रभावशाली विभाग शेरबहादुर तामाङलाई दिइदैछ । पार्टीभित्र वैचारिक–सैद्धान्तिक काम गर्ने स्कूल विभागको प्रमुखमा तामाङलाई प्रस्ताव गरिएको छ ।
राष्ट्रिय युवा संघको इन्चार्जमा क्षितिज थेबे, अनेरास्ववियुको इन्चार्ज रश्मी आचार्य, निर्वाचन विभागको प्रमुख निरज आचार्य र प्रचार विभागको प्रमुख सूर्य पाठकलाई दिने प्रस्ताव गरिएको छ ।






