जनकपुरधाम,१५ असार ; मधेश प्रदेशमा मनसुन सक्रिय भई निरन्तर वर्षा भइरहे पनि धान रोपाइँले अपेक्षित गति लिन सकेको छैन। प्रदेशभर हालसम्म कुल धान खेतीयोग्य क्षेत्रफलको मात्र ४.३६ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको तथ्यांक सार्वजनिक भएको छ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार असार १२ गतेसम्म प्रदेशका १६ हजार ९११ हेक्टर क्षेत्रमा मात्रै धान रोपिएको छ। प्रदेशमा करिब ३ लाख ८७ हजार ९३३ हेक्टर क्षेत्रमा धान खेती हुने अनुमान गरिएको छ।
जिल्लागत विवरण हेर्दा महोत्तरी धान रोपाइँमा सबैभन्दा अगाडि देखिएको छ। जिल्लामा ४० हजार हेक्टर क्षेत्रफलमध्ये ३ हजार २६६ हेक्टरमा रोपाइँ सम्पन्न भई ८.१७ प्रतिशत प्रगति भएको छ। धनुषा र बारामा समान ७ प्रतिशत रोपाइँ भएको छ भने सिराहा र सप्तरीमा ५ प्रतिशतका दरले रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ।
यता सर्लाहीमा भने रोपाइँको गति निकै सुस्त देखिएको छ। ४२ हजार ६ सय १५ हेक्टर धान क्षेत्रमध्ये हालसम्म १ हजार ३६ हेक्टरमा मात्र रोपाइँ भएको छ, जुन कुल क्षेत्रफलको २.५ प्रतिशत मात्रै हो।
सबैभन्दा चासोको विषय भने पर्सा र रौतहट बनेका छन्। यी दुई जिल्लामा हालसम्म धान रोपाइँ सुरु नै हुन सकेको छैन। मन्त्रालयका सूचना अधिकारी यज्ञ ज्ञवालीका अनुसार चैते धान अझै नकाटिएकाले नयाँ बालीको रोपाइँ सुरु हुन नसकेको हो।
यद्यपि, पछिल्ला दिनहरूमा भइरहेको वर्षाका कारण आगामी दिनमा धान रोपाइँले तीव्र गति लिने अपेक्षा गरिएको छ। मन्त्रालयले जलवायु परिवर्तनका कारण कृषि चक्रमा आएको परिवर्तनलाई ध्यानमा राख्दा हालको प्रगतिलाई अस्वाभाविक मान्न नहुने जनाएको छ।






