काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूको सूचीमा प्राविधिक त्रुटि भेटिएपछि पार्टीको केन्द्रीय निर्वाचन आयोगले नाम सच्याउँदै हेरफेर गरेको छ।
चितवनको भरतपुरमा सम्पन्न महाधिवेशनको मत परिणाम र क्लस्टर व्यवस्थापन मिलाउने क्रममा बढी मत ल्याएका उम्मेदवारहरू नै सूचीबाट छुटेको भन्दै गुनासो आएपछि भुवन केसीको अध्यक्षतामा रहेको आयोगले आवश्यक छानबिन गरी आधिकारिक सूची परिमार्जन गरेको हो।
निर्वाचन आयोगले सच्याएको नयाँ विवरण अनुसार यसअघि केन्द्रीय सदस्यका रूपमा घोषणा गरिएका कृष्णमान श्रेष्ठ र सोम शर्माको नाम हटाइएको छ भने उनीहरूको स्थानमा क्रमशः ध्रुवकुमार थापामगर र पूजा बास्तोलालाई केन्द्रीय सदस्यमा निर्वाचित घोषणा गरिएको छ।
पार्टीको महाधिवेशन निर्वाचन कार्यविधि २०८३ को व्यवस्था अनुसार जनजाति क्लस्टरतर्फ यसअघि कृष्णमान श्रेष्ठ निर्वाचित भएको विवरण सार्वजनिक भए पनि उम्मेदवारहरूले पेस गरेका कागजात, प्रमाण र मत परिणामको पुनरावलोकन गर्दा ध्रुवकुमार थापामगरको मत बढी देखिएकाले उनलाई निर्वाचित गर्ने निर्णय आयोगले गरेको छ।
यस्तै, प्रादेशिक भूगोलतर्फ गण्डकी प्रदेशको मत परिणाम गणनामा पनि त्रुटि फेला परेको छ। गण्डकीबाट पूजा बास्तोला निर्वाचित हुनुपर्ने स्पष्ट मत परिणाम देखिए पनि भूलवश सोम शर्माको नाम समावेश हुन गएकाले आयोगले आवश्यक सच्याउ गर्दै बास्तोलालाई आधिकारिक रूपमा विजयी घोषणा गरेको हो।
भरतपुरमा हालै सम्पन्न रास्वपाको पहिलो महाधिवेशनले ७ पदाधिकारी र ९९ केन्द्रीय सदस्य गरी कुल १०६ सदस्यीय समिति चयन गरेको थियो, जसमा सभापति पदमा रवि लामिछाने र उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।
अन्य प्रमुख पदाधिकारीहरूमा महिला उपसभापति सोविता गौतम, महामन्त्री विपिन कुमार आचार्य, सहमहामन्त्रीहरू हरि ढकाल र असिम शाह तथा महिला सहमहामन्त्रीमा निशा डाँगी निर्वाचन प्रक्रियामार्फत चुनिएका हुन्।
निर्वाचन आयोगले सच्याएको यो नयाँ सूचीसँगै महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहणको तयारी अघि बढाइएको छ।
त्रुटि सच्याइएपछि महाधिवेशनका उम्मेदवार र प्रतिनिधिहरूमा रहेको अन्योल अन्त्य भएको छ भने पार्टीले आगामी बैठकहरू मार्फत थप मनोनीत सदस्यहरूबारे निर्णय लिने तयारी थालेको छ।






