जनकपुरधाम। सिराहाको कर्जनहा नगरपालिका–७ का वडा अध्यक्ष रामसेवक यादवका छोरा २१ वर्षीय गिरजा यादवविरुद्ध पत्रकारमाथि कुटपिट गरेको आरोपमा प्रहरीमा मुद्दा दर्ता भएको छ।
प्रहरीका अनुसार गिरजा यादवविरुद्ध ‘रिस, आवेग वा उत्तेजनामा कुटपिट’ सम्बन्धी कसुरअन्तर्गत मुद्दा नम्बर २११ दर्ता गरिएको हो।
रेडियो धनुषाधामका पत्रकार गोबिन्द यादव निर्माणाधीन आरसीसी सडक ढलानको गुणस्तरबारे स्थलगत समाचार सङ्कलन गरिरहेका बेला उनीमाथि आक्रमण भएको आरोप छ। उक्त घटनामा पत्रकार यादवको टाउकोमा चोट लागेको र उपचारका क्रममा तीन वटा टाँका लगाउनुपरेको बताइएको छ।
घटनापछि नेपाल पत्रकार महासंघ मधेश प्रदेश समिति तथा नेपाल पत्रकार महासंघ सिराहा शाखाले संयुक्त रूपमा आपत्ति जनाउँदै दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन्।
महासंघले पत्रकारमाथिको आक्रमणलाई प्रेस स्वतन्त्रता र नागरिकको सूचनाको हकमाथिको गम्भीर चुनौतीका रूपमा व्याख्या गर्दै निष्पक्ष छानबिन गरी दोषीलाई कानुनअनुसार कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
साथै, घाइते पत्रकारको उपचार, सुरक्षा व्यवस्था तथा पत्रकारले सुरक्षित वातावरणमा आफ्नो पेशागत दायित्व निर्वाह गर्न सक्ने अवस्था सुनिश्चित गर्न पनि महासंघले माग गरेको छ।






