कैलाली। कानुन र नियम सर्वसाधारणका लागि मात्र होइन, उच्च पदमा आसीन विशिष्ट व्यक्तिहरूलाई पनि समान रूपमा लागू हुन्छ भन्ने गतिलो उदाहरण सुदूरपश्चिम प्रदेशमा देखिएको छ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह सरकारी निवास परिसरभित्रै हेलमेट नलगाई बुलेट मोटरसाइकल चलाएको कसुरमा ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।
मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले आफ्नै टिकटक खाताबाट शाहले हेलमेटबिना मोटरसाइकल चलाइरहेको भिडियो सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा त्यसको चौतर्फी आलोचना सुरु भएको थियो।
विशेषगरी, केही समययता दिनभर वैशाखीको सहारामा हिँडिरहेका मुख्यमन्त्रीले साँझको समयमा हेलमेटबिना गह्रौँ बुलेट बाइक चलाएको दृश्य बाहिरिएपछि जनस्तरबाट चर्को टिकाटिप्पणी र कानुनी कारबाहीको माग उठेको थियो।
भिडियो भाइरल बनेर सर्वत्र आलोचना हुन थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख रेशम आचार्यसहितको प्रहरी टोली मुख्यमन्त्री शाहकै सरकारी निवासमा पुगेर कारबाही स्वरूप ५ सय रुपैयाँ जरिबानाको चिट काटेको हो।
ट्राफिक प्रहरीले शाहलाई थमाएको चिटमा ‘हेल्मेट नलगाई सवारी चलाएको’ कसुर स्पष्ट रूपमा उल्लेख गरिएको छ। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार मोटरसाइकल चालकले अनिवार्य रूपमा हेलमेट लगाउनुपर्ने व्यवस्था छ।
सोही ऐनअनुसार हेलमेट नलगाई सवारी चलाएको पाइएमा पहिलो पटक ५०० रुपैयाँ, दोस्रो पटक १,००० रुपैयाँ र त्यसपछि १,५०० रुपैयाँसम्म जरिबाना गर्न सकिने स्पष्ट कानुनी प्रावधान अनुरूप नै मुख्यमन्त्रीलाई ५०० रुपैयाँ जरिबाना गराइएको हो।
ट्राफिक प्रहरीले निवासमै पुगेर कारबाही गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री शाहले आफूबाट ट्राफिक नियम उल्लंघन भएको सहजै स्वीकार गरेका छन्।
उनले आफ्नो गल्ती महसुस भएपछि नियमअनुसार कारबाही अघि बढाउन स्वयं ट्राफिक प्रहरीलाई आग्रह गरेको बताउँदै निडरताका साथ कानुन कार्यान्वयन गरेकोमा प्रहरी टोलीलाई धन्यवादसमेत दिए।
कानुन सबैका लागि समान हुनुपर्ने र ठुला व्यक्ति वा पदीय हैसियतका आधारमा कानुन कार्यान्वयनमा कुनै पनि प्रकारको भेदभाव हुन नहुने धारणा उनले व्यक्त गरे।
कानुनले गरेको व्यवस्था अनुसार सबैले कारबाही भोग्नुपर्ने बताउँदै मुख्यमन्त्री शाहले सम्पूर्ण नागरिकलाई पनि सचेत रहेर सडक सुरक्षा तथा ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेका छन्। यस घटनाले पदीय आचरण र कानुनी सर्वोच्चताका विषयमा समाजमा एक सकारात्मक सन्देश प्रवाह गरेको छ।






