नेपालमा जुन महिनामा भित्रिए ९१ हजारभन्दा बढी विदेशी पर्यटक, कोभिड अघिको तुलनामा २२ प्रतिशतको वृद्धि

२०८३ असार १८, बिहीबार १४:४०

काठमाडौं। सन् २०२६ को जुन महिनामा हवाईमार्ग हुँदै ९१ हजार ३६३ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्।

नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सार्वजनिक गरेको अध्यागमन विभागको पछिल्लो तथ्यांकअनुसार यस वर्षको जुनमा नेपाल आउने पर्यटकको संख्यामा गत वर्षको सोही महिनाको तुलनामा १९.५ प्रतिशतको उत्साहजनक वृद्धि देखिएको हो।

गत वर्ष अर्थात् सन् २०२५ को जुन महिनामा ७६ हजार ४२५ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए। त्यस्तै, कोभिड–१९ महामारी अगाडिको सर्वाधिक पर्यटन गतिविधि रहेको वर्ष सन् २०१९ को जुन महिनामा ७४ हजार ८८३ जना पर्यटक आएका थिए, जसको तुलनामा यस वर्ष २२.०१ प्रतिशतले आगमन बढेको छ।

तथ्यांकअनुसार जुन महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा ठुलो हिस्सा दक्षिण एसियाली (सार्क) मुलुकहरूको रहेको छ, जहाँबाट ४८ हजार २५४ जना पर्यटक आएका छन्। यो संख्या कुल आगमनको ५२.८ प्रतिशत हो।

मुख्य स्रोत बजारमध्ये छिमेकी मुलुक भारतबाट मात्रै सबैभन्दा धेरै ४१ हजार ८०९ जना पर्यटक नेपाल आएका छन्। भारतबाहेक अन्य एसियाली मुलुकहरूबाट १६ हजार १५२ पर्यटक भित्रिएका छन्, जुन कुल आगमनको १७.६८ प्रतिशत हिस्सा हो।

यसमा चीनबाट ८ हजार ८७५, जापानबाट २ हजार ४९७, दक्षिण कोरियाबाट १ हजार ७६५ तथा थाइल्यान्डबाट ९८४ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्।

युरोपेली क्षेत्रबाट कुल १३ हजार ११९ जना पर्यटक नेपाल आएका छन्, जसमा बेलायतबाट ३ हजार २६६, जर्मनीबाट १ हजार ८९२ र फ्रान्सबाट १ हजार २६७ जना रहेका छन्। अमेरिकी महाद्वीपबाट कुल ६ हजार ९५४ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ७.६१ प्रतिशत हुन आउँछ।

यस अवधिमा संयुक्त राज्य अमेरिकाबाट ५ हजार २३७, क्यानडाबाट १ हजार २९८ तथा ब्राजिलबाट २१९ जना पर्यटकले नेपालको भ्रमण गरेका छन्। त्यस्तै, ओसियानिया क्षेत्रबाट अस्ट्रेलियाका २ हजार ६९४ र न्युजिल्यान्डका ३९० गरी कुल ३ हजार ९० जना पर्यटक नेपाल भित्रिएका छन्, जुन संख्या गत वर्षको तुलनामा ५६.३५ प्रतिशत र सन् २०१९ को तुलनामा ५७.१७ प्रतिशतले बढी हो। यसबाहेक अफ्रिकाबाट ६७४ तथा मध्यपूर्वका देशहरूबाट २९२ जना पर्यटक नेपाल आएका छन्।

नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सन्तोष विक्रम थापाका अनुसार पछिल्ला महिनाहरूमा अन्तर्राष्ट्रिय हवाई सम्पर्क (एयर कनेक्टिभिटी) मा भएको विस्तार, विदेशमा सञ्चालित निरन्तरको पर्यटन प्रवर्द्धन अभियान, प्रमुख स्रोत बजारहरूमा गरिएको प्रचारप्रसार तथा सुरक्षित र आकर्षक गन्तव्यका रूपमा नेपालले बनाएको छविका कारण पर्यटक आगमनमा यो निरन्तर सुधार देखिएको हो।

पर्यटन बोर्डले आगामी मुख्य पर्यटकीय सिजनलाई समेत लक्षित गर्दै भारत, चीन, अमेरिका र युरोप लगायतका प्रमुख देशहरूमा थप प्रवर्द्धनात्मक र बजार विस्तारका गतिविधिहरू सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?