कर्णाली नदीमा खसेको फोर्स गाडी र यात्रुको खोजी जारी: तीव्र बहाव र धमिलो पानीले उद्धारमा कठिनाइ

२०८३ असार १९, शुक्रबार १२:१७

कर्णाली। बिहीबार कर्णाली नदीमा खसेको यात्रुवाहक फोर्स गाडी र त्यसमा सवार यात्रुहरूको खोजीका लागि आज बिहानैदेखि गोताखोर टोली पुनः परिचालन गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका छ जना तालिमप्राप्त गोताखोरहरू आज बिहान ८:०० बजेदेखि नदीमा खोजी कार्यमा जुटेका हुन्।

बिहीबार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क प्र ०२-००१ ख १०५५ नम्बरको फोर्स गाडी दिनको ११:३० बजे दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ साङ्गेतडास्थित सडकबाट करिब ४०० मिटर तल खसेर कर्णाली नदीमा बेपत्ता भएको थियो।

दुर्घटना भएको उक्त स्थान प्रहरी चौकी दैलेखबाट तीन किलोमिटर उत्तर र जिल्ला प्रहरी कार्यालय दैलेखबाट ५० किलोमिटर पश्चिममा पर्दछ।

बिहीबार दुर्घटनालगत्तै गोताखोरहरूले लगातार पाँच घण्टासम्म खोजी गर्दा पनि गाडी र यात्रु फेला नपरेपछि आज दोस्रो दिन खोजी कार्यलाई तीव्रता दिइएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले जानकारी दिए।

उनका अनुसार वर्षाका कारण कर्णाली नदीको जलसतह अत्यधिक बढेको मात्र नभई पानीको बेग पनि निकै तीव्र र धमिलो भएकाले खोजी कार्य चुनौतीपूर्ण बनेको छ।

घटनास्थल भिरको अप्ठ्यारो भागमा भएकाले सिधै नदीमा ओर्लिने ठाउँ नहुँदा उद्धार टोलीले छिमेकी जिल्ला अछामको सिमानाबाट खोजी गरिरहेको छ।

दुर्घटनाका क्रममा भिरमा अचेत अवस्थामा अड्किएका एक जना पुरुषको जीवितै उद्धार गरी अस्पताल पुर्‍याउँदै गर्दा बाटोमै मृत्यु भएको छ, तर उनको पहिचान र ठेगाना अझै खुल्न सकेको छैन।

प्रहरीको आधिकारिक रेकर्ड अनुसार सुर्खेत बसपार्कबाट बिहान ८:०० बजे गाडी छुट्दा तीन जना र दैलेखको डुङ्गेश्वरबाट दुई जना यात्रु थपिएका थिए। चालक र सहचालक सहित अहिलेसम्म उक्त गाडीमा कम्तीमा सात जना सवार रहेको पुष्टि भएको छ।

बेपत्ता यात्रु र गाडीको खोजीका लागि जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक श्रवण विकको कमान्डमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली घटनास्थलमा अहोरात्र खटिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?